काठमाडौं । राष्ट्रिय सुरक्षामा साझा बुझाई विकास गर्दै राज्यका विभिन्न संयन्त्रहरूबीच कार्यगत एकता सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण सम्पन्न भएको छ।

सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा २०८२ चैत १ गतेदेखि सञ्चालन भएको “Advanced Course on National Security” नामक उक्त तालिम २०८२ चैत १८ गते औपचारिक रूपमा समापन गरिएको हो।

रक्षा मन्त्रालयको आयोजनामा सञ्चालन गरिएको यस तालिममा राष्ट्रिय सुरक्षा तथा बृहत्तर राष्ट्रिय हितसँग सम्बन्धित विविध आयामहरूबारे ज्ञान, अनुभव र दृष्टिकोण आदानप्रदान गरिएको थियो। तालिममा विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार क्षेत्र तथा सुरक्षा निकायहरूबाट प्रतिनिधित्व गर्दै कुल ३० जना सहभागी रहेका थिए।

समापन समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले सहभागीहरूलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै यस्ता तालिमले राष्ट्रिय सुरक्षाका विषयमा साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विभिन्न निकायबीच समन्वय र सहकार्यका आधारमा गरिने एकीकृत प्रयासबाट मात्र सुरक्षा नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने विश्वास व्यक्त गरे।

उक्त समारोहमा पूर्व प्रधान सेनापति, रक्षा सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख, सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका रथीवृन्द, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, अधिकृत तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वि.सं. २०७२ सालदेखि सुरु गरिएको यस उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्देश्य राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षहरूमा समान बुझाई कायम गर्नुका साथै राज्यका सम्पूर्ण संयन्त्रहरूबीच एकीकृत कार्यसंस्कृतिको विकास गर्नु रहेको छ। हालसम्म यस कार्यक्रममार्फत २८२ जना विभिन्न क्षेत्रका प्रतिनिधिहरू प्रशिक्षित भइसकेका छन्।
यस तालिमले राष्ट्रिय सुरक्षालाई केवल सुरक्षा निकायको दायित्व नभई समग्र राज्य प्रणालीको साझा जिम्मेवारीका रूपमा स्थापित गर्ने प्रयासलाई थप बल दिएको विश्वास गरिएको छ।




