🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

कार्की आयोगको सिफारिसपछि पूर्व प्रधानमन्त्री ओली पक्राउ

काठमाडौं, चैत १४ गते । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई आज बिहान ०६:१५ बजे भक्तपुरको सूर्यटोल गुन्डुस्थित निवासबाट प्रहरीको ठूलो उपस्थितिमा नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ।

उच्च सुरक्षा स्रोतका अनुसार, विशेष टोली परिचालन गरी ओलीलाई नियन्त्रणमा लिइएको हो। पक्राउसँगै उनलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं, भद्रकालीमा ल्याइएको बुझिएको छ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उहाँले जानकारी दिनुभयो ।

कार्की आयोगको प्रतिवेदनपछि कारबाही

सुरक्षा स्रोतका अनुसार, २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले कारबाही सिफारिस गरेपछि ओलीमाथि पनि अनुसन्धान अघि बढाइएको हो। नयाँ सरकार गठनसँगै उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय भएपछि सुरक्षा निकाय सक्रिय बनेको बताइएको छ।

आयोगले तत्कालीन सत्ता नेतृत्वलाई नै जिम्मेवार ठहर गर्दै फौजदारी अनुसन्धान सिफारिस गरेको चर्चा यसअघि नै सार्वजनिक भइसकेको थियो।

सुरक्षा घेरा र आकस्मिक अपरेसन

प्रत्यक्षदर्शीका अनुसार, बिहानैदेखि सूर्यटोल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। क्षेत्रमा केही समय तनावपछि नियन्त्रणमा लिइएको थियो भने स्थानीयमा समेत त्रास र कौतुहलता देखिएको थियो।

एक स्थानीयले भने, “अचानक धेरै प्रहरी आए, केहीबेरमा गाडीमा राखेर लगियो, त्यसपछि मात्र थाहा भयो-ओलीलाई लगिएको रहेछ।”

राजनीतिक कम्पन सुरु

ओली पक्राउसँगै राष्ट्रिय राजनीतिमा ठूलो तरंग उत्पन्न हुने संकेतहरू देखिन थालेका छन् । एमाले वृत्तमा आकस्मिक बैठकको तयारी भइरहेको छ भने अन्य दलहरू परिस्थिति नजिकबाट नियालिरहेका छन्।

ओली निकट नेताहरूले यसलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिएका छन्। तर सुरक्षा निकाय भने प्रतिवेदन-आधारित कानूनी प्रक्रिया भएको दाबी गर्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *