🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

संघर्ष, सम्भावना र रंगकर्मीको सपना,महिला रंगकर्मीको अनुभव कस्तो छ ?

 

काठमाडौं । आज विश्व रंगमञ्च दिवस । समाजका विकृति–विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो ।

सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । समाजका विकृति–विसंगतिलाई उजागर गर्दै चेतना फैलाउने माध्यमका रूपमा रंगमञ्चलाई लिइन्छ । नेपालमा पनि पछिल्लो समय युवाहरूको आकर्षण बढ्दो छ, तर यस क्षेत्रमा अवसर र चुनौती दुवै उत्तिकै देखिन्छन् ।

रंगमञ्चमा नयाँ पुस्ताको प्रवेश

रंगकर्मी अमृत सुनुवारका अनुसार उनले भर्खरै मात्र रंगमञ्च यात्रा सुरु गरेका हुन् । मण्डला थिएटरको सातौँ ब्याचबाट अभिनय सिकेका उनले ‘सिरुमा रानी’ नाटकमार्फत आफ्नो यात्रा थालेका हुन् ।

उनी भन्छन्, ‘कक्षामा सिकेका कुरा स्टेजमा प्रयोग गर्न पाउनु ठूलो अनुभव हो । कथावस्तु राम्रो थियो र हामीले धेरै सिक्यौँ ।’ सानैदेखि फिल्मप्रति रुचि राखेका सुनुवार रंगमञ्चलाई अभिनय सिक्ने आधार मानेका छन् । उनी दयाहाङ राई, विपीन कार्की र सौगात मल्लजस्ता कलाकारहरूबाट प्रेरित भएको बताउँछन्, जो रंगमञ्च हुँदै फिल्म क्षेत्रमा स्थापित भएका हुन् ।

अनुभवसँगै बढ्दो दृष्टिकोण

करिब नौं वर्षदेखि रंगमञ्चमा सक्रिय विशाल देवकोटा रंगमञ्चलाई अभिनयको विद्यालय मान्छन् । उनका अनुसार धेरै कलाकार फिल्म क्षेत्रमा व्यस्त भएपछि नाटकबाट टाढा हुन्छन् । ‘नाटकमा समय धेरै दिनुपर्छ । एक महिनासम्म स्टेजमा समय दिनुपर्ने हुन्छ, त्यसैले व्यस्त कलाकारलाई गाह्रो हुन्छ,’ उनी भन्छन् ।
उनले रंगमञ्च र फिल्म दुवैलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्दै भने, ‘नाटकले अभिनय निखार्छ, त्यसैले वर्षमा एक–दुई वटा नाटक गर्नैपर्छ ।’

रंगमञ्च : कला र सिकाइको संगम

सागर खातीका लागि रंगमञ्च केवल अभिनय नभइ, विभिन्न कलाको संयोजन भएको बताउँछन् । ‘जम्पिङ फ्रग’, ‘जार’ र ‘हेड्डा ग्याब्लर’ जस्ता नाटकले उनलाई यो क्षेत्रमा तानेको उनले बताए ।

उनी भन्छन्, ‘थिएटर भनेको म्यूजिक, कथा, कस्ट्युम, संवाद सबैको मिश्रण हो । यहाँ हरेक दिन केही नयाँ सिक्न पाइन्छ ।’ तर उनी रंगमञ्चमा प्राविधिक जनशक्तिको अभाव रहेको बताउँछन् । ‘लाइट, सेट, कस्ट्युमजस्ता क्षेत्रमा दक्ष जनशक्ति कमी छ,’ उनले भने ।

सञ्जय भण्डारी रंगमञ्चमा लेखनको खोजी गर्दै आएका हुन् । उनी भन्छन्, ‘म अभिनयका लागि होइन, लेखनका लागि आएको हुँ । तर यहाँ आएपछि अझ धेरै कुरा भेटिए ।’

उनका अनुसार रंगमञ्चले समाजको ऐना भएर काम गर्दै आएको छ र भविष्यमा पनि यसको आवश्यकता रहनेछ । डिजिटल युगमा पनि ‘लाइभ’ कला कहिल्यै समाप्त नहुने उनको विश्वास छ ।

संघर्ष र समर्पणको यात्रा

समिर भट्टराई रंगमञ्चलाई ‘घर’ जस्तै अनुभव गर्ने बताउँछन् । ‘यहाँ सिक्दै, गल्ती गर्दै, सुधार्दै अघि बढ्ने वातावरण छ,’ उनी भन्छन् । तर पारिवारिक र आर्थिक चुनौती ठूलो रहेको उनको भनाइ छ । ‘घरबाट पनि यो क्षेत्रलाई करियरका रूपमा स्वीकार्न समय लाग्छ, खर्च उठाउन गाहे छ सुरु सुरुमा,’ उनले भने ।
रंगमञ्चले केवल अभिनय मात्र नभैइ जीवनका हरेक क्षेत्रमा उपयोगी सीप सिकाने गरेको उनी बताउँछन् ।

महिला रंगकर्मीको अनुभव

सुमिता कार्कीले रंगमञ्चले आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् । ‘पहिला म एकदमै इन्ट्रोभर्ट थिएँ, अहिले बिस्तारै खुल्दै छु,’ उनी भन्छिन् ।

तर उनले आर्थिक अस्थिरता र सीमित दर्शकलाई मुख्य चुनौतीका रूपमा औँल्याइन् । ‘दुई–तीन महिना एउटा नाटकमा समय दिनुपर्छ, तर आम्दानी सीमित हुन्छ,’ उनले भनिन् ।

चुनौतीहरू : आर्थिक, संरचनात्मक र सामाजिक

रंगकर्मीहरूको साझा अनुभव अनुसार रंगमञ्चमा मुख्य चुनौतीहरू आर्थिक अस्थिरता, सीमित दर्शक तथा बजार, प्राविधिक जनशक्तिको अभाव, पारिवारिक तथा सामाजिक स्वीकार्यता चुनौतीहरु हुन् ।

भविष्यप्रति आशा

यद्यपि चुनौतीहरू धेरै छन्, रंगकर्मीहरू रंगमञ्चको भविष्यप्रति आशावादी पनि छन् । उनीहरूका अनुसार रंगमञ्च केवल फिल्ममा पुग्ने माध्यम मात्र नभई स्वतन्त्र र सशक्त कला हो । विश्व रंगमञ्च दिवसले यस्ता कलाकारहरूको संघर्ष, समर्पण र सिर्जनात्मक यात्रालाई सम्मान गर्ने अवसर प्रदान गर्नेमा रंगकर्मीहरु आशावादी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *