🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

कनकासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, बिरामी मर्कामा

 

मुगु । कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव देखिएको छ । गाउँपालिका–२ स्थित मालिकाबोटा स्वास्थ्य चौकीमा करिब दुई महिनादेखि एन्टिबायोटिकजस्ता महत्वपूर्ण औषधि उपलब्ध नभएको पाइएको हो ।

स्थानीयका अनुसार मालिकाबोटा स्वास्थ्य चौकीमा एमोक्सिसिलिन, सिप्रोफ्लोक्सासिनलगायत औषधि अभाव हुँदा बिरामीहरू उपचारविहीन बन्ने अवस्था आएको छ ।

स्वास्थ्य चौकी इन्चार्ज रतन हमालका अनुसार उक्त स्वास्थ्य संस्थामा ९२ प्रकारका औषधि उपलब्ध हुनुपर्ने भए पनि गाउँपालिकाबाट १३÷१४ प्रकारका औषधि समेत नियमित रूपमा नआउने गरेको छ। ‘एन्टिबायोटिक औषधि अत्यावश्यक हुन्छन्, तर ती नै करिब दुई महिनादेखि अभावमा छन्,’ उनले भने ।

उनका अनुसार गाउँपालिकामा औषधि माग फाराम पठाए पनि हालसम्म आपूर्ति हुन सकेको छैन । चालु आर्थिक वर्षको पहिलो चौमासिकमै औषधि खरिद गरिसक्नुपर्ने भए पनि ढिलाइ भएको र हालै मात्र गाउँपालिकाको स्टोरमा औषधि पुगेको जानकारी प्राप्त भए पनि स्वास्थ्य चौकीसम्म नआएको उनले बताए ।

स्वास्थ्य चौकीमा दैनिक १० देखि १५ जना बिरामी उपचारका लागि आउने गरेका छन्। चिसो हावापानीका कारण दम तथा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढी हुने गरेको इन्चार्ज हमालले जानकारी दिए ।

औषधि अभावका कारण उपचारका लागि पुगेका बिरामीहरू खाली हात घर फर्किन बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *