🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

अँध्यारो जंगलमा हराएका चारजना महिला-पुरूषलाई सेनाले राति नै फेला पार्‍यो

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणका क्रममा हराएका चार जना व्यक्तिलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। २०८२ चैत ९ गते निकुञ्ज क्षेत्रमा हराएका उनीहरूलाई निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको चन्दननाथ गण अन्तर्गतको रेस्क्यु टोलीले राति करिब ९ बजे फेला पारी उद्धार गरेको हो।

नेपाली सेनाले २०८२ चैत १० गते दिएको जानकारी अनुसार हराएका व्यक्तिहरूलाई खोजी गर्न विशेष टोली परिचालन गरिएको थियो। घना जंगल, कठिन भूगोल र अँध्यारो अवस्थाका बीच सञ्चालन गरिएको खोजी अभियानपछि उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारिएको सेनाले जनाएको छ।

उद्धार गरिएका चारै जनालाई प्राथमिक सुरक्षात्मक जाँचपछि सम्बन्धित निकाय नेपाल प्रहरीलाई बुझाइएको छ। प्रारम्भिक विवरण अनुसार उनीहरू शिवपुरी क्षेत्रमा पदयात्रा (हाइकिङ) का लागि गएका थिए र बाटो बिराएर हराएका थिए।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौं उपत्यकासँगै जोडिएको भए पनि घना जंगल, जटिल भू-बनोट र सीमित संकेतका कारण अपरिचित व्यक्तिका लागि जोखिमपूर्ण मानिन्छ। विगतमा पनि यहाँ यस्तै प्रकृतिका घटनाहरू दोहोरिँदै आएका छन्।

यस घटनाले निकुञ्ज क्षेत्रमा घुम्न जानेहरूका लागि सतर्कता अपनाउनुपर्ने सन्देश दिएको छ। सुरक्षा निकायहरूले एक्लै वा पर्याप्त तयारी बिना जंगल क्षेत्रमा प्रवेश नगर्न र आवश्यक जानकारी तथा मार्गदर्शन लिएर मात्र भ्रमण गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *