🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

नयाँ सरकार, नयाँ वर्ष-सशस्त्र प्रहरीमा नयाँ आईजीपी र एआईजीपीमा कसकसकाे भाग्य खुल्ला ?

काठमाडौं । २०८३ वैशाख १८ गते सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त हुँदैछन् । उनी अवकाशमा गएपछि एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एकजना नयाँ आईजीपी बन्ने छन् । उनीहरूमध्ये पौडेल वरिष्ठ एआईजी भएकाले राजु अर्यालपछि उनै पौडेल आईजीपी बन्ने निश्चित मानिएको छ ।

पौडेल पनि २०८४ चैतमै अवकाशमा जानेछन् । सरकार परिवर्तन र नयाँ सन्दर्भमा रिक्त एआईजीपी पदमा कुन चाहिं डीआईजीपीकाे भाग्य खुल्ने हाे ? सशस्त्र प्रहरी बलमा खुल्दुली हुन थालेकाे छ ।

२०८२ सालपछि चाहिं सि.सं. १, २ र ३ का टोलीलाई आईजीपी बन्ने अवसर भने न्यून देखिएको संगठन स्रोत बताउँछ । कारण, डीआईजी पदमा चार प्लस एक गरी पाँच वर्षे पदावधिका कारण उनीहरू नेतृत्व तहमा पुग्नुअघि नै अवकाशमा जानुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।

सबैभन्दा कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा अहिलेसम्म नेपाल प्रहरी र नेपाली सेनाबाट स्थानान्तरण भएर आएका अधिकृतहरूले मात्रै संगठनको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । संगठनभित्रैबाट भर्ना भएका ‘फ्रेस’ अधिकृतहरू भने अझै नेतृत्व तहमा पुग्न सकेका छैनन् ।

२०८२ चैत १ गते सरकारले चार डीआईजीहरूको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको थियो । सोही निर्णयका कारण अब पनि नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएका अधिकृतहरूले नै नेतृत्वमा बाजी मार्ने सम्भावना बढेको बताइन्छ ।

सशस्त्र प्रहरी बल स्थापना भएको २४ वर्षपछि नेतृत्व तहमा पुग्न लागेका सि.सं. १ ब्याचीहरू डीआईजीबाटै अवकाशमा जानुपर्ने अवस्था सिर्जना भएको भन्दै संगठनभित्र पदावधि थपको विषयमा चर्को असन्तुष्टि देखिएको थियो । सि.सं. १ का अधिकृतहरूले पदावधि थप गर्न नहुने भन्दै लबिङसमेत गरेका थिए । तर, उनीहरूको प्रयास असफल भयो र पदावधि थपको निर्णय कार्यान्वयनमा गयो ।

संगठनमा २०५९ कात्तिक २६ गते भर्ना भएको पहिलो ब्याच सि.सं. १ हो । त्यसपछि २०५९ चैत ७ गते दोस्रो ब्याच र २०६० साउन २९ गते तेस्रो ब्याच भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *