काठमाडौं । कालोपुलमा भएको चोरीकाण्डमा संलग्न दुई जनालाई प्रहरीले सुनचाँदीका गहना, नगद र धारिलो हतियारसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–५ कालोपुल लामागल्लीस्थित एक डेरा कोठाबाट सुन, चाँदी, नगद र अन्य सामग्री चोरी भएको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०८२ मंसिर ६ गते भएको उक्त चोरीमा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–१ का २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निरज सापकोटालाई २०८२ मंसिर ७ गते पक्राउ गरिएको हो । चोरी भएको भनिएको सामग्रीमा करिब २६ तोला ८ आना बराबरका सुनका गहना, ३३ हजार मूल्य बराबरका चाँदीका गहना, १० हजार भारतीय रुपैयाँ, नेपाली नगद र ४५ हजार रुपैयाँ बराबरका अन्य सामग्री रहेका थिए ।
प्रहरीले पक्राउ परेकाहरूबाट सुनजस्तो देखिने तिलहरी, सिक्री, नेकलस, बाला, जन्तर, नाकमा लगाउने फुली, कानमा लगाउने झुम्का, चाँदीजस्तो देखिने बाला, पाउजु, औंठी, धातुको चुरा लगायतका सामग्री बरामद गरेको जनाएको छ । त्यतिमात्र होइन, उनीहरूबाट एक थान खुकुरी, दुई थान फलामको रड, बिँडसहित करिब २.८ फिट लामो तरबार, २ लाख ४९ हजार रुपैयाँ नगद र चोरीमा प्रयोग भएको होन्डा कम्पनीको स्कुटर समेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।
सामान्य चोरीजस्तो देखिएको घटनामा नगद, गहना र हतियारसमेत फेला पर्नुले यो गिरोह केवल ‘साधारण चोर’ नभई योजनाबद्ध समूह हुनसक्ने आशंका बलियो भएको छ । प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ । कालोपुल क्षेत्रमै यति ठूलो चोरी भएपछि सुरक्षा सतर्कता र सहरी अपराध नियन्त्रणमाथि पनि फेरि प्रश्न उठेको छ ।




