काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत जटिल प्रसूति समस्यामा परेकी हुम्लाकी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत सफल उद्धार गरिएको छ।
मन्त्रालयका अनुसार चैत ७ गते हुम्ला जिल्ला चखेली गाउँपालिका–४ निवासी गर्भवती/सुत्केरी महिलामा गम्भीर प्रसूति जटिलता देखिएपछि तत्काल उद्धारको आवश्यकता परेको थियो। दुर्गम भौगोलिक अवस्था र स्वास्थ्य सेवा पहुँच सीमित भएका कारण स्थानीय स्तरमा उपचार सम्भव नभएपछि हवाई उद्धार प्रक्रिया अघि बढाइएको हो।
उक्त महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित रूपमा उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्याइएको मन्त्रालयले जनाएको छ। समयमै गरिएको उद्धारले आमाको ज्यान जोखिमबाट जोगिएको बताइएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा आवश्यक उपचार भइरहेको छ।
मन्त्रालयले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको जनाएको छ। विशेषगरी जटिल प्रसूति अवस्था, आकस्मिक स्वास्थ्य समस्या तथा तत्काल उच्चस्तरीय उपचार आवश्यक पर्ने अवस्थाहरूमा यस्तो उद्धार सेवा जीवनरक्षक सावित हुँदै आएको छ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित उक्त कार्यक्रमले ग्रामीण तथा हिमाली भेगका महिलाहरूलाई लक्षित गर्दै मातृ मृत्यु दर घटाउने, सुरक्षित मातृत्व सुनिश्चित गर्ने र आपतकालीन स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा यस कार्यक्रममार्फत देशका विभिन्न दुर्गम जिल्लाबाट सयौं गर्भवती तथा सुत्केरी महिलाहरूको सफल हवाई उद्धार भइसकेको छ। यसले राज्यले मातृस्वास्थ्यलाई दिएको प्राथमिकता र आपतकालीन सेवाप्रतिको संवेदनशीलता पनि उजागर गरेको छ।




