🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

युनिट सुरक्षामा लापरबाही : खक्रौला गुल्मका कमाण्डरसहितका कर्मचारी प्रधान कार्यालय तानिए

काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको सुरक्षा कमजोरी र त्यससँग जोडिएको घटनाबारे छानबिन गर्न गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहित त्यहाँ कार्यरत कर्मचारीहरूलाई कारबाही प्रक्रियाका लागि काठमाडौंस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।

चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिने विषयलाई लिएर केही तस्कर समूह अनाधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्रै प्रवेश गरी हुलहुज्जतमा उत्रिएको तथा गुल्मपतिमाथि हातपातको प्रयास भएको घटनापछि प्रधान कार्यालयले यसलाई गम्भीर सुरक्षा चुकका रूपमा लिएको हो ।

प्राप्त जानकारीअनुसार, कार्यालय परिसरभित्रै कमाण्डरमाथि हातपातको प्रयास हुँदा पनि आवश्यक बल प्रयोग नगरेको, सुरक्षाको न्यूनतम घेरा कायम गर्न नसकेको तथा युनिट सुरक्षामा अपेक्षित सतर्कता नअपनाएको निष्कर्षपछि सम्बन्धित कर्मचारीलाई मुख्यालय तानिएको हो । प्रधान कार्यालयले अब उक्त घटनाका क्रममा के कारणले प्रभावकारी प्रतिकार हुन सकेन, सुरक्षा संयन्त्र किन निष्क्रिय देखियो र संवेदनशील सुरक्षा युनिटभित्र बाह्य समूह कसरी प्रवेश गर्न सफल भयो भन्ने विषयमा विस्तृत छानबिन गर्ने जनाएको छ ।

घटनाको अर्को गम्भीर पक्ष भनेको तस्कर समूह सशस्त्र प्रहरी बलको कार्यालयभित्रै प्रवेश गरेर हुलहुज्जत सिर्जना गर्न सफल हुनु हो । यस घटनाले सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जालको दुस्साहस मात्र उजागर गरेको छैन, सुरक्षा निकायभित्रको आन्तरिक सुरक्षा तयारीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ । प्रधान कार्यालयले यही पक्षलाई विशेष चासोका साथ हेरेको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले डीएसपी पौडेलले विगतदेखि नै तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेलेको र खक्रौला नाकाबाट हुने अवैध गतिविधिविरुद्ध निगरानी बढाउँदै आएको जानकारी आफूहरूसँग रहे पनि युनिट सुरक्षाको सवालमा भने आवश्यक सावधानी नअपनाइएको ठहर गरेको छ । अर्थात् तस्करीविरुद्ध सक्रियता देखिए पनि आफ्नै कार्यालय र कमाण्ड संरचनाको सुरक्षामा कमजोरी देखिएको मूल्यांकन गरिएको छ ।

यसअघि घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले नं. ४३ रिजर्भ गण वनबेहडा, कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिसकेको छ । समितिले घटनाको प्रकृति, सुरक्षा कमजोरी, जिम्मेवार पक्ष तथा भावी सुधारका उपायबारे प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।

घटनालगत्तै तत्काल त्यहाँ उपस्थित सशस्त्र प्रहरी कर्मचारीहरूलाई पनि मुख्यालय तानिएको छ । साथै, खक्रौला स्थित उक्त कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण, कैलालीबाट नयाँ टोली बदली गरी पठाइएको छ । यसबाट सशस्त्र प्रहरी संगठनले उक्त घटनालाई सामान्य विवादका रूपमा नभई संस्थागत सुरक्षा, अनुशासन र कमाण्ड संवेदनशीलतासँग जोडिएको विषयका रूपमा लिएको बुझिन्छ ।

सशस्त्र प्रहरीले पछिल्लो समय तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेको छ । खक्रौला नाकालाई विगतदेखि नै संवेदनशील बिन्दु मानेर विशेष निगरानी गरिँदै आएको थियो । तर त्यही क्षेत्रमा तस्कर समूहले सुरक्षा युनिटभित्रै प्रवेश गरेर तनाव सिर्जना गर्न सफल भएपछि सीमाक्षेत्रको सुरक्षा रणनीति, युनिट तयारी र कमाण्ड प्रतिक्रिया प्रणालीबारे थप समीक्षा अपरिहार्य बनेको छ ।

यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—यदि सीमामा खटिएको सशस्त्र प्रहरीको आफ्नै कार्यालय सुरक्षित रहन सक्दैन भने तस्करी नियन्त्रण र सीमा सुरक्षाको अवस्था कति सुदृढ छ ? अब छानबिनको निष्कर्षले केवल केही कर्मचारीमाथिको कारबाही मात्रै होइन, सीमावर्ती सुरक्षा संरचनाको वास्तविक कमजोरी पनि उजागर गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *