बिटिएसको ‘देशसेवा’ प्रसंगबाट आफ्नै राजनीतिक यात्राको सन्दर्भ खोलेका सपुतले भने- रास्वपालाई उभ्याउने, बालेन नेतृत्वको स्थिर सरकारको पक्षमा लाग्ने र उत्पीडित समुदायका मुद्दा सत्तालाई सम्झाइरहने आफ्नो मूल लक्ष्य पूरा भएको छ ।
काठमाडौं । कलाकार तथा गायक प्रकाश सपुतले आफू व्यक्तिगत पदलोलुपता वा संसद् छिर्ने महत्वाकांक्षाका कारण नभई राजनीतिक परिवर्तनको पक्षमा उभिएर निर्वाचन मैदानमा होमिएको बताएका छन्। निर्वाचनपछि आफ्नो धारणा सार्वजनिक गर्दै सपुतले आफू समानुपातिक सूचीमा नअटाउँदा “म छुटेँ” भन्ने अनुभूति भए पनि आफ्नो मूल उद्देश्य पूरा भएकाले कुनै गुनासो नरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका हुन्।
सपुतले विश्वप्रसिद्ध कोरियन संगीत समूह बिटिएसले दुई वर्ष सेनामा सेवा गरेर फर्किएको प्रसंग उल्लेख गर्दै आफूले पनि “मरिजाने चोलाको पाँच वर्ष देशलाई दिने” सोच बनाएको बताएका छन्। जीवनको कुनै मोडमा देशको कार्यकारी निकायमा बसेर काम गर्ने सोच पुरानै रहेको र यसपटक त्यसका लागि आफू मानसिक तथा व्यवहारिक रूपमा तयार हुँदै निर्वाचनमा होमिएको उनको भनाइ छ।
उनले यसपटकको चुनावमा आफ्नो मुख्य लक्ष्य प्रतिनिधि सभा सदस्य बन्नु मात्रै नभएको स्पष्ट पारे। सपुतका अनुसार उनको राजनीतिक प्रवेशका तीन मूल उद्देश्य थिए— नयाँ समय र आन्दोलनलाई सम्बोधन गर्ने गरी पुरानो राजनीतिक अभ्यास, अस्थिरता र भ्रष्टाचारविरुद्ध नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने, बालेनको नेतृत्वमा स्थिर सरकार निर्माणको पक्षमा खुला रूपमा लाग्ने, र स्थापित हुने नयाँ शक्ति तथा सरकारलाई उपेक्षित–उत्पीडित समुदायका मुद्दा निरन्तर देखाइरहने तथा झक्झक्याइरहने।
यिनै तीन उद्देश्यसहित मैदानमा उत्रिएको बताउँदै सपुतले आफू नअटाए पनि आफ्नो लक्ष्य सफल भएको महसुस गरेको उल्लेख गरेका छन्। छोटो तयारीका बीच “उत्कृष्ट नम्बर लिएर पास भएको विद्यार्थीझैँ फुरुङ्ग” भएको उनको टिप्पणी छ। उनले आफ्नो व्यक्तिगत पक्षमा नभई समग्र परिवर्तनको पक्षमा मत माग्दै हिँडेको र यसपटक मतदाताले पनि परिवर्तनकै पक्षमा निर्णय गरेको दाबी गरेका छन्।
सपुतले आफूलाई “मामुली गायक”, “चटके” वा “अवसरवादी” भनेर आलोचना गरिए पनि आफू उत्पीडित समुदायमा जन्मिएको, समाजलाई नजिकबाट देखेको र राजनीतिक परिवर्तन भोग्दै हुर्किएको नागरिक भएको बताएका छन्। बाल्यकालदेखि नै अन्याय र विभेदविरुद्ध मनमा आक्रोश र विरोधाभास बोकेको तर त्यसलाई हिंस्रक बाटोमा नभई सिर्जनात्मक अभिव्यक्तिमा ढालेको उनको भनाइ छ। कलाकार भए पनि आफूभित्र सामाजिक र राजनीतिक चेतना जीवित रहेको उनले प्रस्ट पारेका छन्।
उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको भेट स्मरण गर्दै विगतका परिवर्तनकारी क्षणहरूमा आफू छुट्दै गएको अनुभूति बारम्बार भएको र अहिले फेरि देशले नयाँ किसिमको राजनीतिक परिवर्तन खोजेका बेला आफू त्यसको साक्षी र सारथी बन्न चाहेको बताएका छन्। “म फेरि छुट्न चाहन्न, पछुताउन चाहन्न,” भन्ने मनोविज्ञानका साथ आफू अघि बढेको उनको संकेत छ।
सपुतले देशका लागि केही गर्न पद नै चाहिन्छ भन्ने मान्यता आफूमा नरहेको तर प्रभावकारी ढंगले काम गर्न भूमिका भने चाहिने बताएका छन्। यही कारण सञ्चारकर्मी रवि लामिछाने पार्टी खोलेर राजनीतिमा आएको र बालेन शाह प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रिएको उदाहरण दिँदै उनले आफूले पनि भूमिका खोजेको बताएका छन्। यदि सांसद भएको भए उत्पीडित समुदायका मुद्दा, दलित अधिकार, नेपाली मौलिक संस्कृति र पर्यटन क्षेत्रसँग सम्बन्धित ठोस नीति तथा योजनामा काम गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन्। यसका लागि आफू गैरराजनीतिक दलित अधिकारकर्मी, संस्कृतिकर्मी र पर्यटन व्यवसायीसँग निरन्तर छलफलमा रहेको पनि बताएका छन्।
समानुपातिक सूचीमा नअटेपछि रास्वपा सभापति रवि लामिछानेले फोन गरेर आफ्नो समानताको मुद्दा पार्टीकै साझा एजेन्डा भएको र पार्टीभित्र बसेर वा स्वतन्त्र सिर्जनामार्फत् पनि देशका लागि योगदान गर्न सकिने बताएको प्रसंग पनि सपुतले सार्वजनिक गरेका छन्। त्यसको जवाफमा आफूलाई व्यक्तिगत रूपमा अलमल भए पनि देशको समय सुध्रिए सबैको समय राम्रो हुने विश्वास व्यक्त गरेको उनले बताएका छन्।
सपुतले अहिले रास्वपा शक्तिशाली रूपमा स्थापित भएको, बालेन नेतृत्वमा पाँच वर्षको स्थिर सरकार बन्ने सम्भावना देखिएको र त्यो प्रक्रियाको एउटा सानो हिस्सा बन्न पाउनु आफ्नो लागि सन्तोषको विषय भएको उल्लेख गरेका छन्। उनले नयाँ नेतृत्वलाई आगामी पुस्ताले धन्यवाद दिने गरी काम गर्न, देश साँच्चिकै बन्न लागेको अनुभूति दिलाउन र नागरिकलाई “यो देश हामी सबैको हो” भन्ने महसुस गराउन आग्रह गरेका छन्।
आफू परिवर्तनको पक्षमा उभिएकै कारण कलाकारिताको कद घटे पनि गाउँ फर्केर हलो समाएर जीविका चलाउन सक्ने बताउँदै सपुतले कुनै व्यक्तिगत स्वार्थका लागि पद, नियुक्ति वा अवसर खोज्दै कसैको ढोका नधाउने स्पष्ट पारेका छन्। चुनावी अभियानका क्रममा सानो भीडसामु हातेमाइकमा गीत गाउँदा आफ्नो “स्टार कलाकार” रोएको भए पनि रवि लामिछानेको फोनले त्यो पीडा पुछिदिएको उनले उल्लेख गरेका छन्।
अन्त्यमा सपुतले अब आफू ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहेको, बालमस्तिष्कदेखि बोकेको सामाजिक–राजनीतिक चेतको भारी केही समय बिसाउन चाहेको र समाज तथा राज्यको नजरमा “एक समान मान्छे” हुन चाहेको बताएका छन्।




