वीरगञ्ज, ७ चैत : विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ । नेपालको आँखा उपचार सेवाको विकास र अन्धोपन निवारणमा अतुलनीय योगदान पु¥याए वापत प्रदान गरिएको सो पुरस्कारको राशि रु दुईलाख ५१ हजार १११ सहित सम्मानपत्र रहेको छ ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित केडिया आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेत्र विशेषज्ञ डा पन्तलाई सो पुरस्कार अर्पण गरिएको हो ।
नेपालको दोस्रो तथा उपत्यकाबाहिरको पहिलो केडिया आँखा अस्पतालको स्थापना विसं २०३१ साल फागुन १२ गते भएको थियो । अस्पतालले हालसम्म २८ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण तथा ४ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न गरिसकेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै पछिल्लो एक वर्षमा मात्र अस्पतालले १ लाख ३७ हजारभन्दा बढी बिरामीको परीक्षण तथा करिब १७ हजार शल्यक्रिया गर्न सफल भएको छ ।
सो समारोहमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिलका अध्यक्ष मिलन थापाले आगामी दिनमा अस्पतालद्वारा प्रदान गरिदै आएको गुणस्तरीय र सर्वसुलभ आँखा उपचार सेवालाई अझ बिस्तार गरिने जानकरी दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार केडियाले आगामी दिनमा आधुनिक प्रविधियुक्त नयाँ अस्पताल भवन निर्माण तथा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले ISO ९००१ः२०१५ र ISO ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरिसकेकोे छ । ” अस्पतालले सोही अवसरमा बारा तथा पर्सा जिल्लाका सशस्त्र प्रहरी बलको ‘बोर्डर आउटपोस्टहरू’का लागि २८ ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको थियो भने दृष्टिविहीन विद्यालयलाई थप ३ ‘स्ट्रेचर’ प्रदान गरिएको थियो ।
साथै, केडिया छात्रवृत्ति कार्यक्रमअन्तर्गत दृष्टिविहीन तथा श्रवण क्षमता कम भएका छ विद्यार्थीलाई जनही रु. ११ हजार का दरले छात्रवृत्ति वितरण गरिएको थियो । नेपाल नेत्रज्योति संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ । –––




