🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमबाट आत्मनिर्भर, स्वरोजगारमा बृद्धि

म्याग्दी, ६ चैत : महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौं,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७९/०८० देखि शुरु भएको चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा न. ४ र ४ मा लागू भएको छ ।”

महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताउनुभयो । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा चार वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यस वर्ष सिंगामा तीन समूहले मौसमी बेमौसमी तरकारीको बस्तु विबिधीकरण, तातोपानी कुण्डमा डुब्दा लगाउने कपडा सिलाउने तालिम र तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेका छन् । कार्यक्रमबाट तीन वटै समूहका ३० जना भन्दा बढीले सिपमुलक तालिम पाउने नगर कार्यपालिका सदस्य मिना कार्कीले बताउनुभयो ।

बेनी–६ मा रहेका १८ आमा समूहहरुले संयुक्त रुपमा तीन महिने सिलाई कटाई तालिमको प्रस्ताव गरेका छन् । साठी जनालाई सिलाई कटाई सम्बन्धी तालिम दिइने नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा बेनी–३ भकिम्लीमा कुखुरापालन र बेनी – ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो । २०८०/०८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाहरुले ब्यवसायिक रुपमा बाजा बजाउन र बेनी –२ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् । २०८१/०८२ मा बेनी नगरपालिका–५ पुलाचौरमा च्याउखेती, बेनी १ रत्नेचौरमा बाँसको सामग्री बनाउने तालिम र च्याउखेती सम्बन्धी कार्यक्रम सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *