🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ

काठमाडौँ, ६ चैतः पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेका छन् ।

सुरुमा दोहा, दुवई जेद्दा र कुवेत सिटीमा बढी समस्या देखिएकामा हाल दोहा र दुबईमा सीमित मात्रामै भए पनि हवाई सम्पर्क सुरु भएकाले ती दुई ठाउँमा रहेका ट्रान्जिटमा रहेका सबै नेपालीहरू गन्तव्यतर्फ लाग्नुभएको हो ।

जेद्दामा समस्यामा परेका ५२ जना हजयात्रीहरू २०८२ चैत ५ गते फर्किसक्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै कुवेत सिटीमा समस्यामा परेका सुरुका ५२ जनामध्ये बाँकी रहेका ३३ जनाको पनि २०८२ चैत ४ गते साउदी अरेबियाको भिसाको प्रबन्ध मिलाइ गन्तव्यतर्फ जान आवश्यक समन्वय गरिएको मन्त्रालयको भनाइ छ ।

त्यहाँको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा तथा सहयोगका लागि भएका पहलहरू बारेमा परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पश्चिम एसिया तनाव सुरु भएको आज २१ दिन बितिसकेको छ । त्यहाँ तनाव कम गर्नका लागि विभिन्न प्रयासहरू भइरहेको भए पनि गल्फ कोअपरेशन काउन्सिल(जिसिसी) सदस्य मुलुक लक्षित ड्रोन तथा मिसाइल आक्रमण जारी नै रहेको देखिएको छ ।

मन्त्रलयलका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले पश्चिम एसियाको समग्र अवस्था, नेपालीको सुरक्षाका बारेमा जानकारी गराउँदै हालसम्म युएईमा एक जना नेपालीको निधन भएको २० जना नेपालीलाई सामान्य चोटपटक लागेको बताउनुभयो ।

“घाइतेमध्ये एक जनाबाहेक सबै जना उपचारपछि घर फर्केको अवस्था छ । अस्पतालमा रहेका एक जना नेपाली पनि खतरामुक्त हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यी घटनाबाहेक उक्त क्षेत्रका सबै मुलुकमा रहनुभएका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ ।”

मन्त्रालयले सचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि रहनुभएको आपत्कालीन प्रतिकार्य समूह गठन भई उक्त टिमको तेस्रो बैठकसमेत पनि सम्पन्न भएको छ । यस्तै मन्त्रालयमा स्थापना भएको आपत्कालीन नियन्त्रण कक्ष २४सै घण्टा सञ्चालनमा रहेको छ ।

मन्त्रालयेको कन्सुलर सेवा विभागले जानकारी, समन्वय र सम्भावित उद्धारका उक्त क्षेत्रमा रहेका नेपालीको विवरण सङ्कलनका लागि खोलेको अनलाइन फाराम भर्नेहरूको नेपालीको सङ्ख्या शुक्रबारसम्म ८२ हजार १०० पुगेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

 

यसैगरी केही नेपालीहरूबाट त्रास वा डर फैलाउने उद्देश्यका फोटो, भिडियो वा अन्य कन्टेन्ट बनाउने तथा त्यस्ता सामग्री सेयर गर्ने सात जना नेपाली पक्राउ परेका छन् । “सङ्कटको समयमा आफू बसेको देशका सरकारले जारी गरेका सुरक्षासम्बन्धी नियम कानुनको पूर्ण पालना गर्नु सबैको कर्तव्य र दायित्व हो”, उहाँले भन्नुभयो, “हालको विषम परिस्थितिमा जारी भएका सूचना एडभाइजरी तथा निर्देशनहरू कानुनसरह लागू हुने भएकाले उल्लङ्घन गरेमा ठूलो जरिवाना हुने, जेल बस्नुपर्ने र डिपोर्ट हुनुपर्नेलगायतका गम्भीर कानूनी कारबाही भोग्नुपर्ने हुन्छ ।”

नेपालले यही मार्च १ तारिखमा प्रेस वक्तव्य जारी गरी द्वन्द्वरत पक्षहरूलाई तनाव थप नबढाउन, अधिकतम संयमता अपनाउन, अन्तरराष्ट्रिय कानुनको पालना गर्न, नागरिक तथा नागरिक पूर्वाधारहरूको सुरक्षामा ध्यान दिन तथा अन्तरराष्ट्रिय मानवीय कानुनको सम्मान गर्न आग्रह गरेको थियो । त्यसैगरी, आपत्कालीन नियन्त्रण कक्षमा हालसम्म ७८ वटा कलसहित १७० पटक सम्पर्क गरिएको छभने धेरैजसो विषयहरू सुरक्षा र श्रम स्वीकृतिसँग सम्बन्धित रहेका मन्त्रालयले जनाएको छ ।

नेपालका १० वटै नियोगहरूमा पनि हटलाइन राखिएको र त्यहाँबाट समस्यामा परेका नेपालीहरूको विवरण लिने र समन्वय गर्ने कार्य भइरहेको मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो ।

“हाल अनलाइन प्रणालीमा, नियोगमा र यहाँ नियन्त्रण कक्षमा फोन गर्ने ‘म असुरक्षित छु’ भन्ने खालको समस्या बताउने क्रम क्रमशः घट्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “कन्ट्रोल रूममा आज कुनै पनि सम्पर्क (कल, मेसेज वा इमेल) गरिएको छैन भने हिजो बिहीबारमात्र सात कल वा मेसेज प्राप्त भएका थिए ।” आपत्कालीन प्रतिकार्य समूहको तेस्रो बैठकका निर्णयअनुसार पुनः श्रम स्वीकृतिको विषय लागू भएको उहाँले बताउनुभयो ।

त्यसैगरी, मन्त्रालयले हालको राहदानी प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्ने प्रक्रियामा रहेको जनाएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले नयाँ राहदानी प्रणाली कार्यान्वयन योजनाका सम्बन्धमा जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *