🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

ग्लोबल मनि विकमा ग्लोबल आइएमई सक्रिय

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसर पारेर विद्यार्थी तथा युवालाई लक्षित गर्दै देशभर वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार यस वर्षको ग्लोबल मनि विकको मुख्य नारा “स्मार्ट मनि टक्स” लाई आत्मसात् गर्दै मार्च १६ देखि मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ती कार्यक्रम विशेषगरी विद्यार्थी, युवा पुस्ता र बैंकिङ सेवाप्रति चासो राख्ने वर्गलाई लक्षित गरी आयोजना गरिने बताइएको छ ।

बैंकले प्रत्यक्ष कार्यक्रमका अतिरिक्त वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री तयार गरी प्रकाशन गर्ने तथा आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्ने जनाएको छ । यसमार्फत बचत, खर्च व्यवस्थापन, डिजिटल कारोबार, वित्तीय अनुशासन तथा वित्तीय सुरक्षाबारे सर्वसाधारणमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको बैंकले स्पष्ट पारेको छ ।

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता विस्तारलाई आफ्नो सामाजिक तथा संस्थागत दायित्वका रूपमा अघि बढाउँदै आएको जनाएको छ । बैंकका अनुसार वित्तीय साक्षरता अभिवृद्धिका लागि हरेक वर्ष देशभर रहेका शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । चालु आर्थिक वर्षमा मात्रै बैंकका ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

यस्ता कार्यक्रमहरूमा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगीबाट जोगिने उपाय तथा वित्तीय अनुशासन जस्ता विषयमा जानकारी दिइँदै आएको बैंकले जनाएको छ । बैंकले पछिल्लो समय वित्तीय पहुँचसँगै डिजिटल सेवा विस्तार भइरहेको अवस्थामा डिजिटल कारोबार सुरक्षित र जिम्मेवार ढंगले प्रयोग गर्न सक्ने क्षमता विकास आवश्यक रहेको उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मानित बैंकका रूपमा परिचित छ । बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको सम्मान प्राप्त गरिसकेको छ । यसबाहेक बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको जनाएको छ ।

सेवा सञ्जालको हिसाबले पनि ग्लोबल आइएमई बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित छ । बैंकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको छ । हाल बैंकले ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजारभन्दा बढी सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले नेपाली नागरिकलाई नियमित बैंकिङ सेवा प्रदान गर्नुका साथै विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकमार्फत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स भित्रिने गरेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा सञ्चालन गर्न लागिएको यो अभियानले विशेषगरी युवा पुस्तामा सही वित्तीय निर्णय गर्ने क्षमता, सुरक्षित डिजिटल कारोबार गर्ने बानी तथा दीर्घकालीन आर्थिक अनुशासन विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *