🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

निर्वाचन सुरक्षामा खटिएका अस्थायी सशस्त्र प्रहरीकाे विदाई

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा भर्ना गरिएका अस्थायी निर्वाचन प्रहरीहरूलाई आज विदाई गरिएको छ।

 

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउन देशभरका सशस्त्र प्रहरी इकाइहरूमा अस्थायी रूपमा भर्ना गरिएका निर्वाचन प्रहरीहरूको सेवा अवधि समाप्त भएपछि फागुन २८ गते औपचारिक रूपमा विदाई कार्यक्रम आयोजना गरिएको हो।

सशस्त्र प्रहरी बलका विभिन्न कार्यालय तथा गणहरूमा आयोजित कार्यक्रममार्फत निर्वाचन अवधिभर सुरक्षामा सक्रिय रूपमा खटिएका निर्वाचन प्रहरीहरूलाई धन्यवाद दिँदै विदाई गरिएको बताइएको छ। निर्वाचनको तयारी, मतदान केन्द्रको सुरक्षा, मतपेटिका संकलन तथा ढुवानीलगायतका संवेदनशील जिम्मेवारीहरू निर्वाह गर्न उनीहरूलाई परिचालन गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरीका अधिकृतहरूले निर्वाचन सुरक्षामा खटिएका अस्थायी प्रहरीहरूले उच्च अनुशासन, कर्तव्यनिष्ठा र जिम्मेवारीका साथ काम गरेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरीहरूको भूमिका महत्वपूर्ण रहेको पनि बताएका थिए।

निर्वाचन सुरक्षामा खटिएका अस्थायी निर्वाचन प्रहरीहरूले देशका विभिन्न जिल्लामा रहेका मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा सशस्त्र प्रहरी बलका नियमित जनशक्तिसँग सहकार्य गर्दै जिम्मेवारी निर्वाह गरेका थिए।

सशस्त्र प्रहरी बल नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन देशभर उच्च सतर्कता अपनाउँदै आवश्यक सुरक्षा व्यवस्थापन गरेको थियो। निर्वाचन सम्पन्न भएसँगै अस्थायी रूपमा भर्ना गरिएका निर्वाचन प्रहरीहरूको कार्यकाल समाप्त भएपछि औपचारिक रूपमा विदाई गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *