काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र *‘राम नाम सत्य’*को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ। गीत सार्वजनिक भएको दुई सातामै करिब तीन लाखभन्दा बढी टिकटक भिडियो बनिसकेका छन्।
युट्युबमा पनि उक्त गीतले २१ लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ। गीतले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। केही दर्शकले व्यस्त राजनीतिक माहोलबीच गीतले मनलाई शीतल बनाएको बताएका छन् भने कतिपयले संगीत र दृश्य प्रस्तुतिको प्रशंसा गरेका छन्।
गीतको लोकप्रियताले गीतकार डा. उपाध्याय र चलचित्रका निर्देशक माइकल चन्द उत्साहित देखिनुभएको छ। चुनावी माहोलमा गीत सार्वजनिक गर्दा समय उपयुक्त नभएको टिप्पणी आए पनि गीत सफल हुनेमा आफूहरू विश्वस्त रहेको निर्देशक चन्दले बताउनुभयो।
रोमान्टिक शैलीको उक्त गीतमा धनबहादुर गिरी (बाबुल) र रचना रिमालको स्वर रहेको छ भने संगीत गायक गिरीकै रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार भएको भिडियोमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टको अभिनय देख्न सकिन्छ।
चलचित्रमा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला र दिनेश डिसीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता उपेन्द्र शाही र स्वेता विमली हुनुहुन्छ भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहनुभएको छ।
नेपाली साहित्यका सर्जक तथा रेकर्डधारी स्रष्टा डा. डीआर उपाध्यायका विभिन्न विधामा १५३ विश्व रेकर्ड कायम रहेका छन्। उहाँका ३७ भन्दा बढी एल्बममा १५० भन्दा बढी गीत तथा भिडियो सार्वजनिक भइसकेका छन् भने १७ वटा उपन्यास पनि प्रकाशित भइसकेका छन्। यसका साथै उहाँका कविता र गीतसंग्रहसमेत पाठकमाझ आएका छन्।




