🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

भोजपुर, २२ चैतः भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ । यही चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिका गरी तीन स्थानीय तहको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।
मुन्दुम पदमार्गको प्रचार–प्रसार तथा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।
सो रेसअन्तर्गत भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको दौड आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६० किलोमिटर दूरी पार गर्ने रुट तय गरिएको थियो ।
प्रतियोगितामा ६० किलोमिटर पुरुष खुलातर्फ ओखलढुङ्गाका विनोद थापा मगर ६ घण्टा ५० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम हुनुभयो । खोलुखुम्बुका अर्जुन कुलुङ द्वितीय र मिलन राई तृतीय हुनुभयो । विजेताले क्रमशः नगद ८० हजार, ६० हजार र ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
महिलातर्फ खुल्ला ६० किलोमिटर दौडमा खोटाङकी निर्मला राई प्रथम, रोल्पाकी आश्मा विक द्वितीय र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तृतीय हुनुभयो । उहाँहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ८० हजार, ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
पुरुष खुल्ला ४५ किलोमिटर दौडमा काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू द्वितीय र भोजपुरका उमेश राई तृतीय हुनुभयो । उहाँहरूले पनि ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
महिला ४५ किलोमिटरतर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोश्नी बुढा द्वितीय र भोजपुरकी रुश्मा राई तृतीय हुनुभयो । उहाँहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
भेट्रान (४० वर्षमाथि) पुरुषतर्फ धरानका यामनाथ लिम्बु प्रथम, विजय राई द्वितीय र रेशम लिम्बू तृतीय हुनुभयो । उहाँहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नुभएको आयोजक समितिका अध्यक्ष सन्दिप किरावाले जानकारी दिनुभयो ।
भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र विनिता राई द्वितीय बन्नुभयो । उहाँहरूले क्रमशः २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *