🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

“सेनाको नयाँ पहल : भूतपूर्व सैनिकलाई सम्मान र आत्मनिर्भरता”

लुम्बिनी, चैत २२ (२०८२) । भूतपूर्व सैनिकहरूको पुनर्मिलन, हिताधिकारीहरूको कल्याण तथा कोषको दिगोपनलाई मूल उद्देश्य बनाउँदै “भूतपूर्व सैनिक सम्मेलन–२०८२” को पहिलो चरण आज बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टरमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।

प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उद्घाटन गर्नुभएको उक्त सम्मेलन लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा एकसाथ सञ्चालन गरिएको हो। कार्यक्रममा अवकाशप्राप्त सैनिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

नेपाली सेनाले भूतपूर्व सैनिकहरूसँग निरन्तर सम्बन्ध कायम राख्दै उनीहरूको अनुभव, सुझाव र अपेक्षालाई संस्थागत रूपमा सम्बोधन गर्ने लक्ष्य लिएको छ। सम्मेलनमार्फत कल्याणकारी योजनाहरूलाई अझ प्रभावकारी, व्यवहारिक र समावेशी बनाउने पहल गरिएको बताइएको छ।

कार्यक्रममा अवकाशप्राप्त सैनिकहरूले मार्चपास्ट प्रदर्शन गर्नुका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए, जसले सैनिक जीवनको अनुशासन र सांस्कृतिक पहिचानलाई एकसाथ झल्काएको थियो।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा आयोजित उक्त सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलाहरूलाई विशेष सम्मान गरिएको थियो। साथै, उत्कृष्ट तथा सर्वोत्कृष्ट उद्यमशीलतामा संलग्न भूतपूर्व सैनिकहरूलाई प्रशंसा–पत्र र पुरस्कार प्रदान गरिएको छ।

यसै क्रममा फरक क्षमता भएका तथा अशक्त १८ जना भूतपूर्व सैनिकहरूलाई व्हीलचेयर र बैसाखी वितरण गरी सामाजिक सुरक्षाप्रति सेनाको संवेदनशीलता प्रकट गरिएको छ।

नेपाली सेनाले अवकाशपछिको जीवनलाई आत्मनिर्भर, सम्मानित र उत्पादनशील बनाउने दीर्घकालीन उद्देश्यसहित यस्तो सम्मेलनलाई नियमित कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।

तीन चरणमा सञ्चालन हुने सम्मेलनको दोस्रो चरण चैत २५ गते पश्चिम पृतना अन्तर्गतका जिल्लाहरूमा तथा तेस्रो चरण २०८३ बैशाख ३ र ४ गते मध्य पूर्वी पृतना अन्तर्गत आयोजना गरिने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *