🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सर्लाही दु र्घटना प्रकरण : क्षतिपूर्ति लिन परिवार सम्पर्कमा नआएको प्रहरीको दाबी

 

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित बिर्ता बजारमा भएको सवारी दुर्घटना दुर्घटनामा ज्यान गुमाएकी ६१ वर्षीया शान्ति देवी ठाकुरको परिवारले क्षतिपूर्ति नपाएको गुनासो गरिरहँदा जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने परिवार सम्पर्कमै नआएको दाबी गरेको छ ।

मिति २०८२ कात्तिक १६ गते बिहान करिब १० बजे, स्थानीय श्याम सुन्दर ठाकुरकी श्रीमती शान्ति देवीलाई बीआर ३० एपी ३०३७ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । बरकर्वा टोलका विशाल महतोले चलाएको उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको सोही दिन दिउँसो वीरगञ्जस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनापछि पक्राउ परेका चालक महतोमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। तर, सर्लाही जिल्ला अदालतले उनलाई मंसिर १२ गते एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो भने जिल्ला प्रशासन कार्यालय मलंगवाबाट थप ५ लाख ५५ हजार रुपैयाँ धरौटीमा उनी तारेखमा छुटेका छन् ।

प्रहरीका अनुसार मृतकका श्रीमान् श्याम सुन्दर ठाकुरलाई उपचार खर्च, किरिया खर्च तथा क्षतिपूर्ति लिन आवश्यक प्रक्रिया अघि बढाउन पटक पटक जानकारी गराइए पनि हालसम्म उनी सम्पर्कमा नआएको जनाएको छ । साथै, घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन २२ दिनमै जिल्ला सरकारी वकिल कार्यालय मलंगवामा बुझाइसकिएको पनि प्रहरीले स्पष्ट पारेको छ ।

यता, मिति २०८२ चैत २२ गते शनिबार आयोजित पत्रकार सम्मेलनमा मृतकका परिवारले भने दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति नपाएको गुनासो गरेका थिए । उनीहरूले मोटरसाइकल चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको अवस्थामा समेत प्रहरीले सहज रूपमा मुद्दा अघि बढाएर छिट्टै रिहा गराउन भूमिका खेलेको आरोप लगाएका थिए ।

मृतकका छोरा सन्जित शर्माले घटनास्थलको मुचुल्कादेखि अदालतमा पेस गरिएका विवरणसम्म फरक पारिएको दाबी गर्दै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका थिए ।

यसैबीच, पिडितले पत्रकार सम्मेलनमा लगाएका आरोपका आधारमा लेखिएको समाचारलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले भ्रामक समाचार भनेको छ । साथै, पीडित पक्षलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा सम्पर्क गरी क्षतिपूर्ति प्रक्रिया अघि बढाउन पुनः अनुरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *