कहिलेकाहीँ अपराध संसारमा गोली, पैसा र शक्ति भन्दा पनि एउटा अनपेक्षित भावनाले इतिहास बदलिदिन्छ-त्यो हो मायापिर्ती। प्रेम र भावना मानव जीवनको सबैभन्दा कोमल पक्ष हो, तर कहिलेकाहीँ यही भावना शक्तिशाली साम्राज्यको पतनको कारण पनि बन्न सक्छ। संसारकै सबैभन्दा शक्तिशाली, खतरनाक र निर्दयी मानिएको माफिया डनलाई अन्ततः परास्त गराउने कथा पनि यस्तै एउटा अनुमान, धैर्य र मायापिर्तीको धागोबाट बुनेको घटनाजस्तो देखिन्छ।
मेक्सिकोको कुख्यात अपराधी संगठन Jalisco New Generation Cartel (CJNG) को प्रमुख डन एल मेन्चो (El Mencho) लाई पक्रन वा मार्न मेक्सिको र संयुक्त राज्य अमेरिकाका सुरक्षा निकायहरूले लगभग दुई दशकदेखि प्रयास गरिरहेका थिए।
विश्वका करिब ४० भन्दा बढी देशहरूमा आफ्नो अपराधी सञ्जाल फैलाइसकेको यो कार्टेल लागुऔषध तस्करी, हिंसा, अपहरण र संगठित अपराधका कारण अन्तर्राष्ट्रिय सुरक्षा निकायका लागि टाउको दुखाइ बनेको थियो।
तर एल मेन्चो अत्यन्तै सतर्क व्यक्ति मानिन्थ्यो। सुरक्षा निकायहरूका अनुसार उनी मोबाइल फोन कहिल्यै नबोक्ने, इलेक्ट्रोनिक उपकरणबाट टाढा रहने र आफ्ना गतिविधि अत्यन्त गोप्य राख्ने रणनीति अपनाउँथे। यही कारणले उनलाई पत्ता लगाउन विश्वकै अत्याधुनिक निगरानी प्रणालीहरू समेत लामो समयसम्म असफल भइरहेका थिए।
तर अपराध संसारको सबैभन्दा बलियो सुरक्षा घेरो पनि कहिलेकाहीँ मानवीय सम्बन्धबाट कमजोर हुन्छ।
प्रेमिकाको मोबाइल: रहस्यको पहिलो धागो
सुरक्षा निकायहरूले एल मेन्चोलाई प्रत्यक्ष रूपमा ट्र्याक गर्न नसकेपछि उनको प्रेमिकाको मोबाइल फोनलाई केन्द्रमा राखेर निगरानी सुरु गरेका थिए। आधुनिक कम्प्युटर प्रणाली, स्याटेलाइट ट्र्याकिङ र डिजिटल निगरानीमार्फत सेनाले लामो समयसम्म उक्त मोबाइलको गतिविधि सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो।
दिनरात निगरानी भइरहँदा एक दिन त्यो मोबाइल २० फेब्रुअरीमा मेक्सिकोको Tapalpa नामको सानो पर्यटकीय सहरमा पुगेको देखियो। Tapalpa हरियाली जंगल, पहाडी वातावरण र पर्यटकहरूका लागि परिचित शान्त सहर मानिन्छ। तर त्यस दिन त्यही सहर अन्तर्राष्ट्रिय अपराध इतिहासको एउटा निर्णायक क्षणको साक्षी बन्ने तयारीमा थियो।
मोबाइलको संकेत एक निजी निवासमा प्रवेश गरेपछि मेक्सिको र अमेरिकी सुरक्षा निकायहरू सतर्क भए। त्यसपछि अत्याधुनिक ड्रोनहरू उक्त घरमाथि परिचालन गरियो, जसले चौबीसै घण्टा निगरानी सुरु गरे।
ड्रोनको आँखाले देखेको दृश्य
अर्को दिन बिहान ड्रोनको इन्फ्रारेड क्यामेराले एउटा महत्वपूर्ण दृश्य कैद गर्यो। घरको ढोका खुल्यो र एक महिला बाहिर निस्किन्-उनी नै डनको प्रेमिका भएको पुष्टि भइसकेको थियो।
केही क्षणपछि घरको मूल ढोकाबाट एक पुरुष बाहिर आए। उनले ती महिलालाई नजिक तानेर अँगालो मारे र बिदाइ गरे। ड्रोन क्यामेरामा कैद भएको त्यो दृश्य सामान्य मानिसका लागि प्रेमिल क्षण मात्र हुन सक्थ्यो, तर सेनाका विश्लेषकहरूका लागि त्यो सबैभन्दा ठूलो संकेत बन्यो।
सुरक्षा अधिकारीहरूले एक महत्वपूर्ण अनुमान लगाए-“यति शक्तिशाली र खतरनाक डनको प्रेमिकालाई यसरी अँगालो हाल्ने आँट अरू कसले गर्न सक्छ ? सम्भवतः त्यो व्यक्ति डन स्वयं एल मेन्चो नै हुनुपर्छ।”
यो निष्कर्ष अनुमानमा आधारित भए पनि त्यसमा सुरक्षा विश्लेषणको गहिरो आधार थियो।
अन्तिम घेरा
दुई दिनको गुप्त निगरानीपछि २२ फेब्रुअरीमा सेनाले निर्णायक कदम चाल्यो। उक्त घरलाई चारैतिरबाट सैनिकहरूले घेरे। माथिबाट ६ वटा हेलिकप्टर परिचालन गरियो, ड्रोनले निरन्तर दृश्य पठाइरहेका थिए।
केही क्षणमै सैन्य कारबाही सुरु भयो। अत्याधुनिक हतियार र रणनीतिक आक्रमणमार्फत सेनाले घरलाई पूर्ण रूपमा नियन्त्रणमा लियो। त्यस कारबाहीमा विश्वकै खतरनाक मानिएका माफिया डन एल मेन्चो मारिएको पुष्टि भएको बताइयो।
अपराध संसारलाई दिएको सन्देश
यो घटना अपराध इतिहासमा एउटा अनौठो पाठका रूपमा हेरिन्छ। वर्षौँसम्म सुरक्षा निकायलाई छल्दै आएको अपराधी साम्राज्य अन्ततः प्रेमको एउटा क्षणबाट उत्पन्न भएको अनुमानका कारण ढलेको थियो।
यसले एउटा गहिरो सन्देश दिन्छ- जति शक्तिशाली अपराधी भए पनि, जति गोप्य सुरक्षा घेरा बनाइए पनि, मानवीय भावना र सम्बन्ध कहिलेकाहीँ सबैभन्दा कमजोर कडी बन्न सक्छ।
अपराध संसारमा सत्ता, डर र हिंसाले शासन गर्न सक्छ, तर अन्ततः मानव जीवनको वास्तविकता यही हो- प्रेम, भावना र मानवीय सम्बन्धलाई पूर्ण रूपमा नियन्त्रण गर्न कसैले सक्दैन।
सुगतरत्न कंसाकार





