🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (टेकु)ले पक्राउ गरेको छ।

कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै लामो समयसम्म सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाइएको छ।

पक्राउ पर्नेमा सल्यानका कर्णबहादुर राउत (५२) रहेका छन्। उनले फिलिपिन्स पठाइदिने भन्दै ११ जनाबाट ५५ लाख रुपैयाँ ठगी गरेको आरोप छ। यस्तै तनहुँका आनन्द थापा (४२)ले माल्टा पठाउने भन्दै १ जनाबाट ४ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन्।

त्यसैगरी नवलपरासी (पूर्व)का राधिका पाठक पौडेल (३९)ले फिनल्याण्ड पठाइदिने भन्दै २ जनाबाट ४ लाख २० हजार रुपैयाँ असुलेको खुलेको छ भने मोरङका तिलक परियार (४७)ले सर्बिया पठाउने भन्दै २ जनाबाट ८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यी सबैले आकर्षक रोजगारीको प्रलोभन देखाई पीडितहरूबाट ठूलो रकम असुल्ने र पछि सम्पर्कविहीन हुने गरेका थिए। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा हुने ठगी बढ्दै गएकाले सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *