मुगु । छायानाथ रारा नगरपालिका–स्थित रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट औपचारिक रूपमा स्थापना गरिएको छ । मिति २०८२ चैत २२ गते आइतबार जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा सरोकारवालाहरूको उपस्थितिमा वडा नम्बर ११ मा उक्त पोस्ट सञ्चालनमा ल्याइएको हो ।
साबिक रावा गाविसअन्तर्गत पर्ने हालका वडा नं. १०, ११ र १२ का एक दर्जनभन्दा बढी बस्तीका १० हजारभन्दा बढी नागरिकको शान्ति सुरक्षा, धनजनको रक्षा तथा आपराधिक गतिविधि नियन्त्रणलाई मध्यनजर गर्दै पोस्ट स्थापना गरिएको हो । लामो समयदेखि स्थानीय बासिन्दाले प्रहरी सेवा लिन सदरमुकामसम्म २–३ घण्टा हिँड्नुपर्ने बाध्यता थियो ।
नगरप्रमुख विष्णु कुमार भाम का अनुसार २०८९ सालदेखि नै उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको थियो । पालिका, वडा तथा जिल्ला सुरक्षा समितिले पटक–पटक गृह मन्त्रालय सम्म पहल गर्दै आएको र समाजसेवी अनिल बानियाँको सक्रियतामा अन्ततः अस्थायी पोस्ट स्थापना सम्भव भएको उनले बताए । नगरपालिकाले हालका लागि २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

उक्त पोस्टमा ५ जना प्रहरी खटिनेछन् । स्थानीयस्तरमै साना–तिना विवाद, उजुरी तथा सेवा प्रदान गरिनेछ भने ठूला घटनाहरू मात्र जिल्ला सदरमुकाम पठाइने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रबिराज थपलिया ले पोस्टमा खटिएका प्रहरीलाई कानुनअनुसार नागरिकको सुरक्षामा सक्रिय रहन निर्देशन दिइएको बताए । उनले स्थानीयलाई कुनै पनि घटना घटेमा प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे ।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री का अनुसार देशभरबाट अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि करिब २ हजार ७ सय निवेदन परेकोमा मुगुको रोवाले अनुमति पाउनु महत्वपूर्ण उपलब्धि हो । उनले स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गरिने बताए ।
स्थानीयवासीका अनुसार गाउँमै प्रहरी सेवा उपलब्ध भएपछि न्यायमा पहुँच सहज हुने र अपराधका घटनामा कमी आउने अपेक्षा गरिएको छ । वडा अध्यक्ष कुन्जुमा कुमाईंले पनि स्थानीय तहबाट आवश्यक सहयोग जारी रहने बताएकी छन् ।




