नेपाली समाजमा अहिलेसम्म पनि निष्पक्ष र तथ्यमा आधारित भएर विवेकसम्मत वा तर्कसम्मत निष्कर्ष निकालेर निर्णयमा पुग्ने प्रक्रियाको संस्थागत आधार स्थापित हुन सकेको पाइँदैन । केही अपवाद बाहेक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, समर्थकहरू तथा राजनीतिक विश्लेषकदेखि मतदाताहरूसम्मको सोच, अभिव्यक्ति र व्यवहारको निर्माण र प्रदर्शन वा प्रयोग निश्चित आग्रह वा पूर्वाग्रहको जगमा खडा भएको देखिन्छ ।
यसरी सबैले आआफ्ना दलका नेता, कार्यकर्ताले गरेका गलत कामको ढाकछोप र महिमामण्डन गर्ने काम गर्दै जाने हो भने समाज दिग्भ्रमित हुन्छ र सिङ्गो समाजको नैतिक धरातल कमजोर हुन पुग्छ ।
जुन मुलुकका नागरिकहरूको विचार र कार्यको टुंगो तथ्य र सत्यका आधारमा नलागेर आग्रह र भावनाका आधारमा लाग्छ, त्यस मुलुकका नागरिकहरू राष्ट्रको उन्नतिमा भन्दा समाजमा द्वन्द्व र विभाजनको पर्खाल खडा गर्ने काममा लागेका धेरै दृष्टान्त यत्रतत्र भेटिन्छन्। हाम्रो मुलुकको अवस्था अहिले पनि त्यस्तै देखिन्छ ।
एउटा राजनीतिक दल विशेषका नेता, कार्यकर्ता, समर्थक र मतदातासम्मले सो दलसँग सम्बद्ध नेता, कार्यकर्ता वा समर्थकबाट गलत काम भएको प्रमाण नै अगाडि आउँदा समेत उनीहरूलाई दोषरहित वा सबैकुरामा राम्रै–राम्रो वा सर्वगुणसम्पन्न ठान्ने । त्यसै रूपमा प्रस्तुत गर्ने, र अरू दल र अरू दलसँग सम्बद्ध नेता, कार्यकर्ता र समर्थकसम्म सबैलाई उनीहरूले गलत काम गरेको कुनै प्रमाण र आधार नै नरहेको अवस्थामा समेत सबैकुरा वा पक्षमा गलत ठान्ने, बुझ्ने तथा गलतै रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले संस्कृतिकै आकार ग्रहण गर्न लागेको हो कि भन्ने प्रतीत हुन थालेको छ ।
आग्रहको जाल
केही अपवादलाई छाडिदिने हो भने प्रतिनिधिसभाको हालै भएको निर्वाचनको क्रममा भएका प्रचारप्रसारका कार्यक्रमहरू र चुनावसम्बन्धी व्याख्या र विश्लेषणहरूमा समेत यस्तै आग्रहपूर्ण र असंगत राजनीतिक संस्कृतिको पटक–पटक पुनरावृत्ति भएको देखिन्छ ।
आफू सम्बद्ध नरहेको दलका नेता, कार्यकर्ता र समर्थकले गरेका प्रत्येक निर्णय र कार्यलाई गलत र आपराधिक कामको रूपमा प्रस्तुत गर्ने र त्यही र त्यस्तै काम आफू सम्बद्ध दलका नेता, कार्यकर्ता र समर्थकले गर्दा त्यस्ता निर्णय र कार्यलाई सही निर्णय र कार्यको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति, प्रचलित शब्दावलीमा भन्दा, मुलुकको अग्रगामी विकासका निम्ति सबैभन्दा ठूलो बाधक बनेको हुन्छ ।
गल्तीको बचाउ
सत्तारूढ दलका नेता, कार्यकर्ता र समर्थकले आफ्नो दलका अन्य नेता, कार्यकर्ता र समर्थकले गरेका गलत काम र अपराधको बचाउ गर्ने काम गर्दा सत्तारूढ दलका नेता, कार्यकर्ताहरूमा त्यसप्रकारको गलत काम र अपराध गर्न संकोच नमान्ने प्रवृत्तिको विकास हुन्छ ।
प्रतिपक्षी एवं सत्तामा नरहेका दलका नेता, कार्यकर्ताले गलत काम गर्दा ती दलका नेता, कार्यकर्ता र समर्थकले त्यस्ता गलत कामको ढाकछोप र बचाउ गर्ने काम गर्छन् भने ती दलका नेता, कार्यकर्तामा पनि गलत काम गर्न संकोच नमान्ने प्रवृत्तिको विकास हुन्छ ।
यसरी सबैले आआफ्ना दलका नेता, कार्यकर्ताले गरेका गलत कामको ढाकछोप र महिमामण्डन गर्ने काम गर्दै जाने हो भने समाज दिग्भ्रमित हुन्छ र सिङ्गो समाजको नैतिक धरातल कमजोर हुन पुग्छ ।
नैतिक संकट
सत्तारूढ दलले आफ्ना दलका नेता, कार्यकर्ता र समर्थकले गलत काम गरेको अवस्थामा आफैँ अघि सरेर दण्डित गर्ने परम्परा बसाल्न सक्ने हो भने मात्र मानिसहरू ठिकलाई ठिक र गलतलाई गलत भन्न क्रमशः अग्रसर हुन थाल्छन् र समाजको समग्र नैतिक धरातल बलियो हुन थाल्छ । अर्काको आङ्ग (शरीर) को जुम्रा देख्ने र आफ्ना आङ्ग (शरीर) को भैंसी नदेख्ने प्रवृत्तिको अन्त्य समाजको स्वस्थ र सन्तुलित विकासका निम्ति अनिवार्य हुन्छ ।
स्वच्छ सरकार र सुशासनको रट लगाउँदै आएको र हालै भएको निर्वाचनमा बहुमत प्राप्त गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आफू वा आफ्नो दलसँग सम्बद्ध नेता, कार्यकर्ताले गलत काम गर्दा गलत भन्न सक्ने वातावरणको निर्माण गर्न मात्रै सक्ने हो भने मुलुकमा स्वस्थ राजनीतिक संस्कृतिको निर्माणमा मद्दत पुग्न सक्छ ।
रा.स्व.पा.को परीक्षा
तर, रा.स्व.पा.का नेता कार्यकर्तामा पनि अहिलेसम्म आफ्नो दल र आफ्नो दलका नेताले गरेका गलत कामलाई गलत भन्न सक्ने संस्कृतिको विकास हुन सकेको पाइँदैन । आफ्नो दलका नेता कार्यकर्ताले कहिल्यै गल्ती गर्दैनन्, अरू दलका नेताले कुनै सही काम गरेका छैनन्, गलत मात्रै गरेका छन् भनी ठान्ने सोच स्वयंमा त्रुटिपूर्ण सोच हो र यस्तो त्रुटिपूर्ण सोच राखेर अघि बढ्ने कुनै पनि दल र नेताले समाजलाई सही दिशातिर डो¥याउन सक्दैन भन्ने कुरा रा.स्व.पा.का नेताहरूले समयमै मनन गर्न जरुरी देखिन्छ ।
दुई ठूला र सापेक्षिक रूपमा बढी शक्तिशाली मुलुकको बीचमा रहेको नेपालजस्तो भूपरिवेष्ठित मुलुकले अरू मुलुकसँगको रणनीतिक र सुरक्षा साझेदारीका आधारमा होइन, सन्तुलित परराष्ट्र सम्बन्धका आधारमा मुलुकलाई सबल बनाउने मार्गचित्रको रेखाङ्कन गर्नुपर्छ भन्ने कुरामा पनि अहिले रवि, बालेन र उनको टिमले त्यत्तिकै ध्यान दिन जरुरी देखिन्छ ।
सचेत नेतृत्व
राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा पुगेर विगतमा अरू दलले जे जसरी काम गर्दै आएका थिए त्यसरी नै काम गर्ने मात्रै उद्देश्य नराखेर विगतमा सत्ताको नेतृत्व सम्हालेका अन्य दलले भन्दा राम्रो काम गर्ने उद्देश्य राखेको हो भने सर्वप्रथम सो दलका शीर्ष नेताहरूले आफूबाट विगतमा भएका कमी कमजोरीहरूको समीक्षा गर्नुपर्छ र भविष्यमा त्यस्ता कमी कमजोरीहरू नदोहोर्याउने सार्वजनिक प्रतिबद्धता प्रकट गर्नुपर्छ ।
आफू र आफ्नाले जे गरे पनि गलत हुँदैन र अरूले जे गरे पनि त्यो गलत नै हुन्छ भन्ने खालको सोच र व्यवहार मुलुकको अग्रगतिको होइन, पश्चगतिको कारक हुन्छ भन्ने कुरा सबैले मनन गर्न जरुरी छ । मुलुकको विकासका निम्ति नेतृत्व मुलुकको हितप्रति वास्तविक रूपमा इमानदार हुनुपर्छ र सबैको सहयोग र सहकार्य गरेर अघि बढ्न समेत प्रतिबद्ध हुनुपर्छ ।
देशभित्रका अन्य राजनीतिक शक्तिहरूको खोइरो खन्ने र खास–खास विदेशी शक्तिको इशारा अनुरूप हिँड्ने प्रवृत्तिले मुलुकको स्वाभिमान झन्–झन् कमजोर हुन्छ भन्ने कुरामा सत्तारूढ दलका नेताहरू सबैभन्दा बढी सजग हुनुपर्छ ।




