काठमाडौं । नयाँ निर्वाचित प्रतिनिधिसभाले यसपटक महिला सभामुख पाउने चर्चा तीव्र बनेको छ । रास्वपाभित्र समानुपातिक सांसद समीक्षा बाँस्कोटालाई सभामुख बनाउने गरी आन्तरिक समझदारी जुटाइएको खबर बाहिरिन थालेको छ । औपचारिक घोषणा नभए पनि सत्ता–कोरिडोरमा अहिले यही नाम सबभन्दा बढी घुमिरहेको छ ।
यो चर्चा सामान्य छैन । किनभने प्रतिनिधिसभामा रास्वपाको एकल र अत्यधिक बहुमत छ । त्यसैले सभामुख चयनका लागि न राष्ट्रिय सहमति चाहिन्छ, न दलीय बार्गेनिङको बाध्यता । पुराना दललाई देखाएर सहमतिको नाटक गर्नुपर्ने अवस्था पनि छैन । जसलाई चाह्यो, त्यहीँलाई सभामुखको कुर्सीमा पुर्याउने संख्यात्मक हैसियत रास्वपासँग छ । त्यसैले अब प्रश्न ‘कसको सहमति जुट्छ ?’ भन्ने होइन, रास्वपाले कसलाई रोज्छ ? भन्ने हो ।
यही सन्दर्भमा समीक्षा बाँस्कोटाको नाम अगाडि आएको हो । विवेकशील साझा पार्टीबाट वैकल्पिक राजनीतिको यात्रा सुरु गरेकी बाँस्कोटा पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि केन्द्रीय सदस्यसम्म बनेकी थिइन् ।
नयाँ पुस्ता, महिला प्रतिनिधित्व र वैकल्पिक राजनीतिको अनुहारका रूपमा उनको नामलाई रास्वपाले प्रयोग गर्न खोजेको बुझाइ छ । समानुपातिक सांसदका रूपमा उनी संसद् मा प्रवेश गरेसँगै अब महत्वपूर्ण संवैधानिक पदमा उक्लाउने पक्कपक्की जस्तै भएको जानकारी प्राप्त भएकाे छ ।
समीक्षाको राजनीतिक पहिचान ‘पुराना दलको जिर्ण शैलीभन्दा फरक देखिने’ खालको छ । उनी ठूलो आन्दोलनबाट होइन, ‘वैकल्पिक राजनीति’को नारा बोकेर सार्वजनिक वृत्तमा देखिएकी पात्र हुन् ।
राजनीतिमा भिजेकाे परिवारकी चेली विवेकशील साझा हुँदै रास्वपामा पुगेको उनको यात्राले एउटा कुरा भने प्रस्ट देखाउँछ-नेपालको राजनीति अब विचारभन्दा बढी ब्रान्ड, सन्देश र प्रतीकको खेलतिर सर्दैछ ।
रास्वपाले यदि संसद्को पहिलो ठूलो निर्णयमै ‘हामी फरक छौँ’ भन्ने सन्देश दिन चाह्यो भने महिला, नयाँ र तुलनात्मक रूपमा कम विवादित अनुहारका रूपमा समीक्षा बाँस्कोटा उपयोगी विकल्प बन्न सक्छिन् ।
तर, यतिमै अर्को प्रश्न पनि उठ्छ-रास्वपाले सभामुख पदलाई साँच्चै संस्थागत मर्यादाको पद बनाउने हो, कि आफ्नै बहुमतको पहिलो ‘पावर शो’ का रूपमा उपयोग गर्ने हो ? किनभने सभामुख केवल आसनमा बस्ने व्यक्ति मात्र होइन, संसद्को चरित्र र सत्ता–संस्कृतिको संकेत पनि हो ।
यदि समीक्षा बाँस्कोटाको नाम अन्तिम रूपमा टुंगिएकाे हाे भने त्यो केवल एक महिलाको उकालो मात्र हुनेछैन, रास्वपाले आफ्नो बहुमतलाई कुन प्रतीकमा बदल्न चाहेको हो भन्ने सन्देश पनि हुनेछ ।
अहिलेको वास्तविकता के हो भने-पुराना दलको सहमतिबेगर पनि सभामुख चयन सम्भव छ, रास्वपाको मतले मात्रै सम्भव छ, र त्यसैले निर्णयको केन्द्र पनि रास्वपा आफैं हो । बाहिर सहमतिको भाषा चलिरहे पनि भित्र संख्या बोल्छ । प्रतिनिधि सभाकाे पहिलो ठूलो संवैधानिक पदमा कसलाई पुर्याउने भन्ने प्रश्न अब रास्वपाको शक्ति, रणनीति र मनोविज्ञानको परीक्षा बनेको छ ।
यदि समीक्षा बाँस्कोटा सभामुख बन्छिन् भने त्यसले तीनवटा स्पष्ट सन्देश दिनेछ- पहिलो, रास्वपाले आफ्नो बहुमत प्रयोग गर्न हिच्किचाउँदैन ।
दोस्रो, उसले महिला र नयाँ अनुहारको प्रतीकात्मक राजनीति गर्न खोजिरहेको छ । तेस्रो, संसद्को सुरुमै पुराना दललाई ‘हामीलाई तिम्रो सहमति चाहिँदैन’ भन्ने सन्देश दिन खोजिएको छ ।
सभामुख चयन अब औपचारिक प्रक्रिया कम, रास्वपाको पहिलो शक्ति–प्रदर्शन बढी बन्ने देखिएको छ ।




