जनकपुर । भोलि राम नवमी रहेको छ । धनुषामा धुमधामका साथ प्रत्येक वर्ष राम नवमी मनाइने गरिन्छ । जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा भव्यताका साथ राम नवमी मनाईने गरेको इतिहास नै रहेको छ ।
विगतका केही वर्षहरुमा धनुषामा सक्रिय रहेका हिन्दूवादी संघ, संस्था एवम संगठनहरुले राम नवमीमा विशेष कार्यक्रमहरु गर्दै आएको छ । यस वर्ष पनि विभिन्न हिन्दूवादी संस्थाले राम नवमीको दिन धनुषामा मोटरसाइकल र्याली निकाल्ने जानकारी गराएका छन् ।

उनीहरुले प्रशासनसँग शान्ति सुरक्षाका लागि अनुमति पनि मागेका छन् । तर जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र जारी गर्दै हिन्दूवादी संघ संस्थालाई कुनै पनि किसिमको सभा, जुलुस, र्याली र प्रदर्शन नर्गन आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयको पत्र पछि हिन्दूवादी संघ संस्थाहरुले आपत्ति जनाउँदै धार्मिक कार्यमा रोक लगाउन नहुने भन्दै कुनै पनि हालतमा मोटरसाइकल र्याली निकाल्ने बताएका छन् ।
राष्ट्रिय एकता दलका मधेश प्रदेश इन्चार्ज मनिष पुर्वेले प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनको निर्णय अस्वीकार्य रहेको बताएका छन् । उनले धार्मिक कार्यक्रममा रोक लगाउने निर्णय पूर्णतः गलत, पक्षपातपूर्ण र असंवैधानिक कदम रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले प्रशासनको निर्णय नमान्ने र मोटरसाइकल र्याली तथा शोभा यात्रा निकाल्ने जानकारी गराएका छन् । कुनै किसिमको अवरोध सिर्जना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनको हुने उनले चेतावनी दिएका छन् ।
यता हिन्दू सम्राट नेपाल नामक हिन्दूवादी संस्थाका महासचिव राकेश यादवले पनि प्रशासनले धार्मिक कार्यमा अवरोध गर्नु गलत भएको भन्दै कुनै पनि हालतमा शोभा यात्रा र र्याली निकालेर छोड्ने बताएका छन् ।




