🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

मेघगर्जनसहित वर्षा : कोशीदेखि गण्डकीसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसममा आएको बदलीसँगै देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार २०८२ फागुन २८ गते साँझ ५ बजेसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको छ।

महाशाखाले दिएको जानकारी अनुसार उदयपुर, चितवन, गोर्खा लगायतका केही स्थानमा केही समयका लागि मध्यमदेखि भारी वर्षा समेत भएको छ। गोर्खा आसपासका एक–दुई स्थानमा असिना समेत परेको जनाइएको छ।

हाल आकाशमा अझै मेघगर्जन र चट्याङ्गसहित पानी पार्ने बादल सक्रिय रहेकाले केही समयसम्म थप वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

रडारबाट प्राप्त चित्रअनुसार नेपालका विभिन्न भूभागमा रंगिन संकेत देखिएकोले ती क्षेत्रमा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

चित्रमा पहेंलो थोप्ला जस्तो देखिने भागले अहिले भइरहेको मेघगर्जन/चट्याङ्ग जनाउने र डटेड लाइनले आगामी करिब ३० मिनेटभित्र उक्त मेघगर्जन/चट्याङ्ग कुन दिशातर्फ सर्ने सम्भावना छ भन्ने संकेत गर्ने जनाइएको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ्ग र असिनाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी खुला स्थान, अग्ला रुख, बिजुलीका पोल तथा टावर आसपास नबस्न, सुरक्षित स्थानमा बस्न र यात्रामा सावधानी अपनाउन सुझाव दिइएको छ।

स्थानीय स्तरमा वर्षा केही समय तीव्र हुन सक्ने भएकाले किसान, यात्रु तथा बाहिरी काममा रहेका सर्वसाधारणलाई विशेष सावधानी अपनाउन पनि मौसमविद्हरूले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *