🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

मुनाफाभन्दा माथि संस्कृति पनि : ग्लोबल आइएमईको २०८३ क्यालेन्डरमा पौभा कलाको उज्यालो

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पौभा कलाको दिव्य रङ्ग र दार्शनिक गहिराइ झल्कने तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्त रूपमा उक्त क्यालेन्डर सार्वजनिक गर्नुभएको हो।

बैंकका अनुसार यसपटकको क्यालेन्डरमा नेवार समुदायको मौलिक चित्रकलाका रूपमा परिचित पौभा कलाका दुर्लभ चित्रहरू समावेश गरिएको छ। विशेषगरी काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवाः समुदायसँग पौभा कलाको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध गहिरो रहेको मानिन्छ। थान्कासँग केही मिल्दोजुल्दो देखिए पनि पौभा कलाको आफ्नै विशिष्ट पहिचान, शैली र दार्शनिक गहिराइ रहेको उल्लेख गरिएको छ।

ग्लोबल आइएमई बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिँदै आफ्नो वार्षिक क्यालेन्डरमा मौलिक नेपाली कला र सम्पदालाई स्थान दिँदै आएको छ। बैंकले २०७९ सालमा मिथिला संस्कृतिलाई झल्काउने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृति तथा २०८२ सालमा पुरानो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समेटेर क्यालेन्डर प्रकाशन गरेको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको बैंक हो। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको दाबी गरिएको छ। बैंकका हाल ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेका छन्।

बैंकले स्वदेशभित्र बैंकिङ सेवा प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीबाट रेमिट्यान्स भित्र्याउने काम पनि गर्दै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशहरूबाट बैंकमार्फत रेमिट्यान्स सेवा उपलब्ध हुँदै आएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *