काठमाडौं । उद्योग मन्त्री बन्ने लगभग पक्का अवस्थामा पुगेका अमरेश कुमार सिंह अन्तिम क्षणमा बाहिरिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । लामो समयदेखि सत्ता केन्द्रसँग नजिक मानिएका सिंहको नाम अन्तिम सूचीबाट हट्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।
सत्तानिकट स्रोतका अनुसार, अमरेशको नाम प्रारम्भिक चरणमा निकै बलियो रूपमा अगाडि बढेको थियो । तर, अन्तिम निर्णयको घडीमा आएर उनको नाम काटिएको हो । यसलाई सामान्य राजनीतिक फेरबदलभन्दा बढी संवेदनशील कूटनीतिक कारणसँग जोडेर हेरिएको छ ।
स्रोतहरू भन्छन्–अमरेश सिंहले आफ्ना नजिकका घेरामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको आलोचना गर्ने, र भारतीय कांग्रेस नेतृ सोनिया गान्धी तथा राहुल गान्धीको प्रशंसा गर्ने प्रवृत्ति देखाउँदै आएका थिए । विगतमा भारतीय कांग्रेस सत्तामा रहेका बेला नेपालमा ‘पावर सर्कल’ निर्माण गर्न सफल भएका सिंह अहिले भने नयाँ दिल्लीको सत्तासँग त्यति सहज सम्बन्धमा नरहेको आंकलन गरिएको छ ।
यही पृष्ठभूमिमा काठमाडौंस्थित भारतीय दूतावास र हालको भारतीय सत्ता केन्द्रसँग उनको दूरी बढेको संकेत पाएपछि प्रधानमन्त्री बालेन्द्र शाहले जोखिम लिन नचाहेको स्रोतको दाबी छ । “अहिलेको संवेदनशील अवस्थामा भारतसँगको सम्बन्धमा कुनै पनि चिसोपन आउन दिनु हु“दैन भन्ने सोचले नाम काटिएको हो,” एक सत्तानिकट स्रोतले भन्यो ।
विशेषगरी उद्योग मन्त्रालय जस्तो रणनीतिक महत्वको निकायमा बस्ने व्यक्तिको कूटनीतिक ‘कम्फर्ट लेभल’ पनि महत्वपूर्ण मानिने भएकाले यस्तो निर्णय गरिएको बुझाइ छ । नेपाल–भारत सम्बन्ध आर्थिक, ऊर्जा, लगानी र व्यापारसँग प्रत्यक्ष रूपमा जोडिएकाले सरकार यस विषयमा निकै सचेत देखिएको छ ।
यद्यपि, अमरेश सिंह पक्षले भने यसलाई अतिरञ्जित व्याख्या भन्दै अस्वीकार गरेको छ । उनी निकट स्रोतहरूका अनुसार मन्त्री नबन्नु राजनीतिक सन्तुलन र आन्तरिक समीकरणको परिणाम मात्र हो, कूटनीतिक कारणलाई जोड्नु “अनावश्यक कथा निर्माण” भएको दाबी गरिएको छ ।
जे होस्, अन्तिम क्षणमा भएको यो निर्णयले एउटा सन्देश भने स्पष्ट दिएको छ-अब नेपालको मन्त्रिपरिषद् गठनमा केवल आन्तरिक शक्ति सन्तुलन मात्र होइन, कूटनीतिक समीकरण पनि निर्णायक तत्व बन्न थालेको छ ।




