🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको अनुरोध

काठमाडौँ, १५ चैत : सरकारले ‘ब्रिज कोर्स’का नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिएको जनाउँदै आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा कार्यक्रम बन्द गर्न सम्बन्धित संस्थाहरूलाई अनुरोध गरेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट मिति २०८२/१२/१३ गते निर्णय भएकाले सोहीअनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ । साथै, यस्ता कार्यक्रम सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिन्छ ।’
विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नामका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *