बुटवल, १५ चैत । रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा आठौँ बुटवल राष्ट्रिय खुला लन टेनिस तथा चौथो मेयर कप प्रतियोगिता–२०८२ सुरु हुने भएको छ। प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ।

देवीनगरस्थित टेनिस कोर्ट बुटवलमा हुने प्रतियोगिताको तयारी सम्पन्न भइसकेको जानकारी संघका अध्यक्ष विष्णु चापागाईं ले दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा देशभरबाट खेलाडीहरू बुटवल आउन थालेका छन्।
प्रतियोगितामा पुरुष तथा महिला एकल र डबल्स गरी कुल ११ विधामा प्रतिस्पर्धा हुनेछ। एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस र पुरुष ६५ प्लस गरी ६ विधा रहेका छन्। त्यस्तै डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी ५ विधामा खेल हुनेछन्।
प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ विजेताले ६०/६० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ तथा तृतीय हुने खेलाडीले २० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी उमेर समूहअन्तर्गत पुरुष ३५ प्लस, ४५ प्लस, ५५ प्लस र ६५ प्लस का विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले क्रमशः २० हजार, २० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
चैत २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न कुल २६ लाख ६७ हजार ५०० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा देशभरबाट २ सयभन्दा बढी पुरुष तथा महिला खेलाडीको सहभागिता रहने संघले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताका खेलहरू नेपाल लन टेनिस संघको स्वीकृति तथा अन्तर्राष्ट्रिय खेल नियम र मान्यता अनुसार सञ्चालन गरिनेछन्।
रुपन्देहीमा राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता आयोजना गर्ने परम्परा २०७५ सालबाट सुरु भएको हो। त्यसबेला बुटवल लन टेनिस संघले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो। त्यसैको निरन्तरतास्वरूप रुपन्देही लन टेनिस संघले अहिले आठौँ संस्करणसम्म प्रतियोगिता अघि बढाएको हो।
गत वर्ष सम्पन्न सातौँ बुटवल खुला लन टेनिस प्रतियोगिता तथा तेस्रो मेयर कप अन्तर्गत पुरुष एकलतर्फ पोखराका प्रदीप खड्का विजेता बनेका थिए भने महिला एकलतर्फ काठमाडौंकी सुनीरा थापा ले उपाधि जितेकी थिइन्। यसपटक पनि प्रतिस्पर्धा रोचक र स्तरीय हुने अपेक्षा गरिएको छ।




