🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

नेपाली सेनाको सक्रियतामा मध्यपहाडी लोकमार्ग पुनः सञ्चालन

बागलुङ, २०८२ चैत ८ गते । भारी हिमपातका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने पातिहाल्ने सडक खण्ड २०८२ चैत ७ गते पुनः सञ्चालनमा आएको छ । नेपाली सेनाको चण्डीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको समन्वयमा हिउँ पन्छाएर यातायात सेवा सुचारु गराएको हो ।

हिमपातका कारण उक्त सडक खण्डमा बाक्लो हिउँ जम्दा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो । विशेषगरी पहाडी भेगका यात्रु, स्थानीय बासिन्दा तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ उत्पन्न भएको थियो । सडक अवरुद्ध हुँदा आपतकालीन सेवा तथा यातायात व्यवस्थापनमा समेत समस्या देखिएको थियो ।

स्थिति सामान्य बनाउन नेपाली सेनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो । चण्डीदल गणको नेतृत्वमा खटिएको फौजले सडकमा जमेको हिउँ हटाउने कार्य तीव्र रूपमा सञ्चालन गर्दै अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा छोटो समयमै सडक खुलाउन सफल भएको जनाएको छ ।

सडक सुचारु भएसँगै बागलुङ, रुकुम पूर्व तथा आसपासका क्षेत्रबीचको यातायात पुनः सहज भएको छ । स्थानीयले समयमै उद्धार र व्यवस्थापन कार्य सम्पन्न गरेकोमा नेपाली सेना तथा सुरक्षाकर्मीहरूको प्रशंसा गरेका छन् ।

प्रहरीले हिमपातका कारण अझै केही स्थानमा चिसोपन र हिउँको असर कायम रहन सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, उच्च हिमाली तथा पहाडी क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने भएकाले यात्रा अघि आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *