श्रीमान् सम्पादकज्यू,
साँघु साप्ताहिक, काठमाडौं ।
विषय नेपाली सेनाभित्र बढुवा तथा तालिम छनोटसम्बन्धी नीतिगत अन्यायबारे गुनासो
सादर नमस्कार ।
हामी नेपाली सेनाका विभिन्न तहमा कार्यरत तथा सेवामा रहँदै पीडा भोगिरहेका अधिकृतहरू, हाम्रो संस्थाभित्र लागू हुँदै आएको बढुवा र तालिम छनोटसम्बन्धी नीतिगत व्यवस्थाले सिर्जना गरेको गम्भीर असमानताबारे सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन बाध्य भएका छौँ । संस्थागत अनुशासन, मर्यादा र शपथका कारण प्रत्यक्ष रूपमा बोल्न असहज हुने भएकाले तपाईंको प्रतिष्ठित पत्रिका साँघु साप्ताहिक मार्फत प्रधानसेनापतिज्यूलगायत सम्बन्धित निकायहरूको ध्यान यसतर्फ आकृष्ट गराउन चाहन्छौँ ।
नेपाली सेनामा सेनानीबाट प्रमुख सेनानी, प्रमुख सेनानीबाट महासेनानी हुँदा खरिपाटीको क्याडेटको ग्रेडिङ, वाइओजेएस, सीसीएससी, स्टाफ कलेजको ग्रेडिङ विदेश कोर्सको अंक र शिक्षक अंक प्रत्येक कुरामा जोड्दा एउटै व्यक्ति मात्रै लाभान्वित हुने हालको नीति छ । स्टाफ कलेज गरिसकेपछि मात्र प्रमुख सेनानीमा बढुवा हुने हुँदा यही क्रममा सबै अंक जोडी सकेको हुन्छ र सिनियरटी कायम गरिन्छ ।
तत्पश्चात पनि उक्त कोर्सको गे्रडिङहरू जोडी प्रमुख सेनानीबाट महासेनानी हुँदा पुन सोही नम्बर जोडिने हुँदा एउटै व्यक्तिलाई मात्रै फाइदा पुग्ने गरेको अवस्था छ । यसका लागि सेनानीबाट प्रमुख सेनानी पदमा बढुवा हुँदा यसका लागि सबैलाई समान अवसर प्रदान गर्नका लागि अन्य अवसर दिंदा ग्रेडिङको अल्फा ब्राभो चार्ली बिचको ग्याप कम गर्दा कार्यसंपादन मूल्यांकनमा राम्रो गर्ने समूहलाई समेत समेट्न सकिने छ । शिक्षक ग्रेडिङ प्राप्त गर्नेले विदेश तालिम गर्ने अवसर पाउने र उपत्यकाका शिक्षालयहरूमा मात्रै पोस्टिङ हुने गर्दछन् ।
महासेनानीबाट राष्ट्रिय प्रतिरक्षा अध्ययन (एनडीसी) तालिमका लागि छनोट गर्दा समेत एउटै कोर्सको ग्रेडिङ नम्बरलाई अत्यधिक महत्व दिइने वर्तमान नीति हाम्रो प्रमुख पीडाको विषय बनेको छ । करिअरको सुरुवाती चरणमा प्राप्त गरिएको एउटा ग्रेडिङ नम्बरले जीवनभर पछ्याउने गरी अवसर र सम्भावनाको ढोका बन्द वा खुला गर्ने व्यवस्था न्यायोचित मान्न सकि“दैन ।
हामीमध्ये धेरै अधिकृतहरू मध्यमवर्गीय पृष्ठभूमिबाट आएका छौँ । सुरुवाती तालिमका क्रममा भाषिक, पारिवारिक, शैक्षिक वा अन्य विविध कारणले अत्यधिक प्रतिस्पर्धात्मक वातावरणमा उच्च ग्रेडिङ ल्याउन नसकेका हुन सक्छौँ । तर, त्यसपछिका वर्षहरूमा कठिन क्षेत्र, दुर्गम तैनाथी, शान्ति मिसन, विपत् व्यवस्थापन, तालिम सञ्चालन, व्यवसायिक, प्रशासनिक दक्षता र नेतृत्व क्षमतामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छौँ । तथापि, प्रारम्भिक कोर्सको अंक नै हाम्रो भविष्य निर्धारण गर्ने निर्णायक आधार बनेपछि हाम्रो समर्पण र पछिल्लो उपलब्धि ओझेलमा परेका छन् ।
वर्तमान व्यवस्थाअनुसार मेजरबाट प्रमुख सेनानी हुँदा सबै अंकहरूको गणना हुन्छ । तर प्रमुख सेनानीबाट महासेनानी र महासेनानीबाट एनडीसी जस्ता महत्वपूर्ण तालिममा छनोट गर्दा पनि त्यही प्रारम्भिक ग्रेडिङको अंकभार निर्णायक रूपमा जोडिँदा अवसर सीमित व्यक्तिमा मात्रै केन्द्रित हुने अवस्था देखिएको छ । यसले संस्थाभित्र ‘अल्फा, ब्राभो, चार्ली’ जस्ता प्रारम्भिक श्रेणी विभाजनलाई स्थायी विशेषाधिकारमा परिणत गरेको अनुभूति हामीले गरेका छौँ । प्रारम्भिक सूचीको माथिल्लो स्थानमा रहेका केही अधिकृतहरू निरन्तर अवसरको सिँढी चढिरहने र मध्यम वा तल्लो श्रेणीमा परेकाहरू सधैँ पछाडि पर्ने परिपाटीले संगठनभित्र अदृश्य वर्गीकरणको संस्कृति विकास गरेको महसुस भएको छ ।
हामी यो पत्र कुनै व्यक्ति वा समूहविरुद्ध होइन, नीतिगत पुनरावलोकनको आग्रहस्वरूप लेखिरहेका छौँ । सेनाजस्तो अनुशासित र व्यावसायिक संस्थामा अवसरको समानता, पारदर्शिता र समावेशी मूल्य झन् महत्वपूर्ण हुन्छ । यदि प्रारम्भिक कोर्सको ग्रेडिङ नै जीवनभरको नियति बनाइयो भने त्यसले मनोबल घटाउँछ, प्रतिस्पर्धालाई अस्वस्थ बनाउँछ र संस्थागत एकताको भावनामा पनि असर पु¥याउँछ भन्ने हाम्रो मत रहेको छ ।
हामी प्रस्ताव गर्न चाहन्छौँ कि–
१. बढुवा तथा उच्च तालिम छनोटमा प्रारम्भिक कोर्स ग्रेडिङको अंकभार क्रमशः घटाउँदै पछिल्ला वर्षहरूको कार्यसम्पादन, नेतृत्व मूल्याङ्कन, तालिम उपलब्धि, अनुशासन, व्यवसायिक कार्यक्षमता, मिसन अनुभव र समग्र योगदानलाई बढी महत्व दिइयोस् ।
२. निश्चित तहपछिका बढुवामा नयाँ मूल्याङ्कन प्रणाली लागू गरी ‘दोस्रो अवसर’ को अवधारणा संस्थागत गरियोस् ।
३. मध्यम तथा तल्लो ग्रेडिङमा रहेका तर उत्कृष्ट सेवा अभिलेख भएका अधिकृतहरूको लागि विशेष मूल्यांकन, समीक्षा समिति गठन गरियोस् ।
४. एनडीसी जस्ता रणनीतिक तालिम छनोटमा बहुआयामिक मूल्याङ्कन (इण्टरभ्यु, प्रस्तुति, नेतृत्व क्षमता, रणनीतिक सोच) समावेश गरियोस् ।
हामीलाई विश्वास छ कि संस्थाको मूल शक्ति केवल केही उच्च अंक ल्याएका अधिकृतहरू होइनन्, बरु हजारौँ समर्पित व्यवसायिक सैनिक अधिकृत र जवानहरूको संयुक्त परिश्रम हो । सेनाको आधार स्तम्भ मध्यम तहका अधिकृतहरू हुन्, जो प्रशासन, तालिम, अपरेसन र फिल्ड कमाण्डमा प्रत्यक्ष रूपमा ज्यानको बाजी थापेर खटिरहेका हुन्छन् । यदि उनीहरूको मनोबल खस्कियो भने संस्थाको समग्र प्रभावकारिता पनि प्रभावित हुन सक्छ ।
हामी सम्मानपूर्वक अनुरोध गर्दछौँ कि प्रधानसेनापति अशोक राज सिग्देल, जङ्गी अड्डा, पीएसओज् तथा रक्षा मन्त्रालयले यस विषयमा गम्भीर समीक्षा प्रारम्भ गरून् । रक्षा मन्त्रालयले समेत नीतिगत तहमा आवश्यक परामर्श र निर्देशन दिई संस्थाभित्र न्यायोचित अवसरको सुनिश्चितता गर्न पहल गरोस् । नेपाली सेनाभित्रको असन्तोष सार्वजनिक विवादमा परिणत हुनु अघि नै आन्तरिक सुधारको प्रक्रिया सुरु हुनु अत्यन्त आवश्यक छ ।
हामी सेनाको गौरव, परम्परा र अनुशासनप्रति पूर्ण प्रतिबद्ध छौँ । हाम्रो उद्देश्य संगठनलाई कमजोर बनाउने होइन, बरु अझ व्यावसायिक, निष्पक्ष र समावेशी बनाउने हो । नीति परिमार्जनले केवल केही व्यक्तिलाई फाइदा पु¥याउने होइन, दीर्घकालीन रूपमा संस्थाको सुदृढीकरणमा योगदान दिनेछ भन्ने हाम्रो विश्वास छ ।
अन्त्यमा, तपाईंको पत्रिकाले सधैँ राष्ट्रिय सरोकारका विषयहरूमा साहसिक रूपमा आवाज उठाउँदै आएको छ । त्यसैले हामी नेपाली सेनाका पीडित अधिकृतहरुको यो गुनासोलाई पनि सार्वजनिक विमर्शको विषय बनाई सम्बन्धित निकायहरूको ध्यानाकर्षण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । न्याय र समान अवसरको पक्षमा तपाईं साँघु साप्ताहिकको मञ्च सधैँझैँ प्रभावकारी हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।
धन्यवाद ।
भवदीय,
नेपाली सेनाका पीडित अधिकृतहरू




