🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

नेपालको निर्वाचनप्रति भारतीय प्रधानमन्त्री मोदीको बधाई, सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ काे सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै नेपाली जनता र सरकारलाई बधाई दिनुभएको छ।

प्रधानमन्त्री मोदीले २०८२ फागुन २३ गते शनिवार सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै नेपालमा लोकतान्त्रिक अधिकारको अभ्यास उत्साहपूर्ण रूपमा भएको देख्दा खुशी लागेको उल्लेख गर्नुभएको हो।

उहाँले नेपालको लोकतान्त्रिक यात्रामा यो ऐतिहासिक उपलब्धि गौरवको क्षण भएको बताउनुभएको छ। साथै छिमेकी तथा मित्र राष्ट्रका रूपमा भारतले नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिको साझा यात्रामा सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भन्नु भएकाे छ-

“नेपालमा सम्पन्न निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु। मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा निकै खुशी लागेको छ।

यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्राको गर्विलो क्षण हो।

निकट मित्र र छिमेकी राष्ट्रका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न सधैं प्रतिबद्ध रहनेछ।”

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि अन्तर्राष्ट्रिय समुदायबाट बधाई सन्देश आउने क्रम जारी रहेको छ। भारतका प्रधानमन्त्री मोदीको सन्देशलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने संकेतका रूपमा पनि हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *