🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

निर्वाचन सुरक्षामा खटिएका १ लाख ३३ हजार प्रहरीलाई प्रमाणपत्रसहित विदाइ

काठमाडौं, २८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई २०८२ फागनु २८ गते बिहीबार शुभकामनासहित विदाइ गरिएको छ।

आफ्नो कार्यअवधि सफलतापूर्वक पूरा गरेका निर्वाचन प्रहरीहरूलाई देशभरका ७७ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यक्रम आयोजना गरी प्रमाणपत्र प्रदान गर्दै आगामी जीवनको प्रगति र समृद्धिको कामना सहित विदाइ गरिएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ बमोजिम देशभरबाट गत माघ १८ गते निर्वाचन प्रहरीहरूलाई नियुक्तिपत्र प्रदान गरिएको थियो।

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो। छोटो अवधिको तालिमपछि उनीहरू मतदान केन्द्रहरूमा नेपाल प्रहरीसँग सहकार्य गर्दै परिचालित भएका थिए। उनीहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

नेपाल प्रहरीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न हर परिस्थितिमा अहोरात्र खटिएका सम्पूर्ण निर्वाचन प्रहरीप्रति उच्च सम्मान व्यक्त गरेको छ।

प्रहरीले मुलुकलाई सर्वोपरी ठानी सार्वजनिक शान्ति र अमनचयन कायम राख्ने भावनामा निर्वाचन प्रहरीहरू सधैँ समर्पित रहने विश्वास व्यक्त गरेको छ। साथै निर्वाचन अवधिभर उनीहरूले देखाएको उच्च अनुशासन, धैर्यता, व्यवसायिकता र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा राष्ट्रको शान्तिसुरक्षा, विकास र समृद्धिमा समेत उदाहरणीय योगदान रहने अपेक्षा गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *