🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौं, चैत ४ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान र इमानदार बन्न निर्देशन दिनुभएको छ। उत्कृष्ट व्यवहार, बोली र आचरणलाई आत्मसात् गर्दै नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न उहाँले जोड दिनुभयो।

नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत समसामयिक विषयमा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले यस्तो निर्देशन दिनुभएको हो।

उहाँले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सफल बनाउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। यसले संगठनको समग्र साख र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको उहाँको भनाइ थियो।

‘हाम्रो धर्म र कर्म नै प्रहरी कार्य हो,’ भन्दै उहाँले आ–आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखेर योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारी सधैं तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो। सीमा नाकामा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामदलगायत विषयमा विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो।

त्यसैगरी, आगामी दिनमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता देखाउन तथा हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाउन पनि उहाँले निर्देशन दिनुभयो।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी, अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर तथा प्रदेश समन्वय विभागका प्रमुख अतिरिक्त महानिरीक्षक डम्बरबहादुर बिकले पनि समसामयिक विषयमा निर्देशन दिनुभएको थियो।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो। साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर, जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख र प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

यसैबीच, प्रहरी महानिरीक्षक कार्कीले हालै काजसरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै समसामयिक विषयमा निर्देशनसमेत दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *