काठमाडौ । ०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई जनमत पाएको छ । सो दलले यही हप्ता भित्र नयाँ सरकार गठन गर्ने तयारी सुरु गरिसकेको छ । आमूल परिवर्तन र सुधारवादी विचारका पक्षधर, सिभिल इन्जिनियर, विद्यमान सरकारी सिस्टमका निर्मम आलोचक रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठनपश्चात अन्यथा नभएमा अर्थ मन्त्रालयको जिम्मेवारी अर्थविद् डा. स्वर्णिम वाग्लेले पाउने लगभग निश्चित प्राय रहेको छ । उनले सो मन्त्रालयको नेतृत्व गर्नासाथ नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले राजीनामा दिने चर्चा रास्वपाका समर्थकहरुबाट सुरु भएको छ ।
नव निर्वाचित सांसद वाग्ले र गभर्नर पौडेलकोबिचमा राम्रो सम्बन्ध नरहेको बताइएको छ । गभर्नर पौडेलले ०७९ को आम निर्वाचनमा चितवनबाट नेपाली कांग्रेस पार्टीबाट टिकट लिएर चुनाव लडेका थिए । वाग्ले पनि सोही पार्टी र क्षेत्रबाट टिकट लिएर लड्न खोजेपनि सफल भएनन् । त्यसयता उनीहरुका बिचमा सम्वन्ध राम्रो नभएको चर्चा पनि हुने गरेको छ ।
नेपाली कांग्रेसबाट टिकट नपाएपछि असन्तुष्ट वाग्लेले कांग्रेस छाडेर रास्वपा प्रवेश गरेर उप निर्वाचनमा तनहुँबाट निर्वाचन जितेका थिए । यिनै विविध कारण वाग्लेले अर्थ मन्त्रालयको नेतृत्व गरेको खण्डमा गभर्नर पौडेलमाथि राजीनामाको दवाव बढ्नसक्ने अडकलबाजीहरु भइरहेका छन् ।
जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाईसमेत उनले राजीनामा दिन तयार रहेको बताउँदै आएका थिए । तर, मन्त्री खनालले यी विषयमा खासै चासो दिएनन् । अव गभर्नर पौडेलले वाग्ले अर्थमन्त्री हुनासाथ पदबाट राजीनामा दिनसक्ने स्रोतको बुझाई रहेको छ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी एवम् नेपाली राजनीतिमा बद्नाम छवि भएकी नेतृ डा. आरजु राणा देउवाको विशेष जोडबलमा पौडेलले गभर्नर बन्न सफल भएका थिए ।
पौडेल अमेरिका अध्ययन गरेका योजनाविद्, अर्थशास्त्री भएतापनि मौद्रिक नीतिका जानकार भने मानिदैनन् । कांग्रेसको राजनीतिमा जोडिएका पौडेललाई तत्कालीन ओली नेतृत्वको सरकारले पदीय भागबण्डामा गभर्नरमा नियुक्ति गरेको थियो । त्यसबखत सरकारमा सहकार्य गरेका नेपाली काँग्रेस र एमालेले भागबण्डा गर्दै नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठ र गभर्नरमा भने पौडेललाई नियुक्त गरेका थिए । जुन कार्यको रास्वपाले त्यसबखत खुलेरै संसदमा बिरोध समेत जनाएको थियो ।
त्यसैले पनि नयाँ सरकारले पौडेललाई गभर्नरमा निरन्तरता दिने अवस्था देखिंदैन । उता, गभर्नर पौडेल र वाग्ले दुवै अमेरिकामा अध्ययन गरेका उदार र खुला अर्थ व्यवस्थाका पक्षपाती मानिन्छन् । दुवै जना कांग्रेसको राजनीतिमा जोडिएर शक्तिमा पुगेका पात्रहरु हुन् । कांग्रेसमा रहँदा वाग्ले भावी अर्थमन्त्रीको दावेदार भनेर चर्चा पनि गरिन्थ्यो । त्यसैले पनि गभर्नर र भावी अर्थमन्त्री वाग्लेको बिचमा राम्रो सहकार्य हुन सक्ने अवस्था देखिंदैन ।
सोही कारण गभर्नर पौडेल नयाँ सरकार गठन र वाग्लेले अर्थको नेतृत्व गर्ने बित्तिकै राजीनामा दिने चर्चा सुरु भएको हो । पौडेलको नियुक्ति बखतमा संसदमा बोल्दै सांसद वाग्लेले गभर्नरको रुपमा रबर स्ट्याम्पलाई ल्याउन खोजिएको भन्दै कडा आलोचनासमेत गरेका थिए । यी घटनाक्रम र पृष्ठभूमिका कारणसमेत वाग्लेको नीतिमा राम्रो साथ दिएर गभर्नरको रुपमा बसिरहने न्यून सम्भावना रहेको बताइन्छ ।
(साँघु साप्ताहिक, २०८२ चैत ९ गते)




