काठमाडौँ, ६ चैत : नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘हार्मोनी अफ ड्रम्स : जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड र जापानको वल्र्ड यू एकेडेमी (हिरोज क्लब) को संयुक्त आयोजनामा बोर्डको सभाहलमा सो सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको हो । दुई देशबीचको दीर्घकालीन मित्रता, सांस्कृतिक आदान–प्रदान र आपसी सम्मानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको सो कार्यक्रमले साङ्गीतिक प्रस्तुतीमार्फत कूटनीतिको प्रभावकारी सन्देश प्रवाह गरेको बोर्डले जनाएको छ ।
कार्यक्रममा दुवै देशका कलाकार तथा सांस्कृतिक दूतले परम्परागत धुन र कलात्मक प्रस्तुती दिएका थिए । कार्यक्रममा हिरोज क्लबका कलाकारले ड्रममार्फत प्रस्तुति दिएका थिए । नेपाल सांस्कृतिक संस्थानका कलाकारले धिमे बाजा तथा नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
जापानी ड्रमिङ र नेवारी साङ्गीतिक धरोहरबीचको यो फ्युजनले सांस्कृतिक संवादको नयाँ आयाम सिर्जना गर्दै सद्भाव, एकतालाई थप सुदृढ बनाएको बोर्डका निमित्त निर्देशक सुनिल शर्माले बताउनुभयो । —




