काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई प्रलोभनमा पारेर बैंक खाताको दुरुपयोग गरी ठगी गर्ने गिरोहसँग सम्बन्धित एक चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२ चैत १९ गते साँझ करिब ५:३० बजे काठमाडौं महानगरपालिका–२६, ठमेल क्षेत्रबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङ (Zhu Yi Feng) लाई नियन्त्रणमा लिइएको हो। उनी ठमेलमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट करिब रु. १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ २३ पैसा बराबरको अभौतिक मुद्रा (USDT – Crypto Currency) कारोबारसँग सम्बन्धित प्रमाण, ३ थान मोबाइल तथा ‘International Express’ लेखिएको रकम पठाउन प्रयोग हुने कागजातहरू बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनी सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क गरी विभिन्न आकर्षक प्रलोभन देखाउँदै विश्वासमा पार्ने, त्यसपछि उनीहरूका बैंक खाताहरू प्रयोग गरेर रकम संकलन गर्ने र उक्त रकमलाई क्रिप्टोकरन्सी (USDT) मा रूपान्तरण गरी कारोबार गर्ने गतिविधिमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्ति वा सञ्जालको खोजी भइरहेको पनि जनाइएको छ।
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र क्रिप्टोकरन्सी प्रयोग गरेर हुने ठगीका घटना बढ्दै गएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ। कुनै पनि अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, आफ्नो बैंक खाता तथा व्यक्तिगत विवरण अरूलाई प्रयोग गर्न नदिन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको छ।




