🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

कुमारी घर जीर्ण अवस्थामा: वर्षाअघि नै छानो मर्मत गर्न निर्देशन, संरचना संकटमा

काठमाडौँ, चैत ५ गते । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कुमारी घर (कुमारी बहाल) जीर्ण अवस्थामा पुगेपछि वर्षायाम सुरु हुनुअघि नै यसको छानो मर्मत तथा संरचना सुदृढीकरण गर्न कार्यवाहक प्रमुखले निर्देशन दिनुभएको छ। प्राविधिक अध्ययन समितिको प्रतिवेदनका आधारमा जीर्णोद्धार कार्यसमेत प्रारम्भ गरिएको जानकारी प्राप्त भएको छ।

समितिको प्रतिवेदन अनुसार कुमारी घरको तीनै तलामा गम्भीर संरचनात्मक समस्या देखिएको छ। भवनका पर्खालहरूमा ठूला–ठूला चिरा परेका छन् भने केही धाम र मेथहरू (काठका मुख्य संरचनात्मक भागहरू) कमजोर भई स्थान परिवर्तन हुने अवस्थामा पुगेका छन्। यसले भवनको दीर्घकालीन स्थायित्वमै प्रश्न उठाएको छ।

यस्तै, काठका विभिन्न अवयवहरूमा कीराको आक्रमण देखिएको छ। कतिपय दलिन (काठका संरचनात्मक टुक्रा)हरूमा साना–साना प्वाल परेका छन् भने धेरै ठाउँमा काठ मक्किएको अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी दोस्रो तलामा रहेको शिशाले छोपेर संरक्षण गरिएको ऐतिहासिक भित्तेचित्र समेत जोखिममा परेको छ, जसलाई तत्काल संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

समितिका सदस्य आर्किटेक्ट बज्राचार्यका अनुसार कुमारी घरमा प्रयोग भएका अधिकांश काठका सामग्री अग्राख (बलियो काठ) नभई कुकाठ प्रयोग गरिएकाले क्षय तीव्र रूपमा बढेको देखिएको छ। “संरचनाको अवस्था हेर्दा तत्काल जीर्णोद्धार नगरे थप क्षति हुने निश्चित छ,” उहाँले भन्नुभयो।

प्राविधिक प्रतिवेदनले विशेषगरी वर्षायामअघि छानो मर्मतलाई प्राथमिकतामा राख्न सुझाएको छ। पानी चुहावटका कारण थप क्षति हुन सक्ने जोखिम उच्च भएकाले छानो सुधार कार्यलाई तत्काल अघि बढाइएको हो।

कुमारी घर नेपालको जीवित देवी परम्परासँग जोडिएको अत्यन्त महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। यस्तो ऐतिहासिक संरचनाको संरक्षणमा ढिलाइ भएमा यसको मौलिकता र ऐतिहासिकता दुवैमा गम्भीर असर पर्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

हाल सुरु गरिएको जीर्णोद्धार कार्यले संरचनालाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने उद्देश्य राखिएको भए पनि कार्यान्वयनको गति, गुणस्तर र निरन्तरतामाथि भने सबैको नजर रहने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *