🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

काठमाडौंका दुई क्यासिनोमा छापा, नक्कली भारतीय रासन कार्डसहित अवैध जुवामा संलग्न चाैधजना नेपाली पक्राउ

काठमाडौं, २०८२ चैत ३ गते । काठमाडौं उपत्यकाका दुई क्यासिनोमा नेपाली नागरिकलाई अवैध रूपमा जुवा खेल्ने–खेलाउने कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा १४ जना नेपाली नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले २०८२ चैत ३ गते  मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।

प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित लेमन ट्री होटलभित्र रहेको Garud Casino बाट १३ जना र काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडस्थित Casino Mahjong बाट १ जना पक्राउ परेका हुन्। यसरी दुई स्थानबाट गरी जम्मा १४ जना नेपालीलाई नियन्त्रणमा लिएर जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले उपत्यकाभित्रका क्यासिनोहरूमा नेपाली नागरिकलाई नै अवैध रूपमा प्रवेश गराएर जुवा खेलाउने गतिविधि भइरहेको भन्ने सूचनापछि विशेष निगरानी बढाएको जनाएको छ। सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुवै क्यासिनोमा कारबाही चलाएको हो। प्रारम्भिक अनुसन्धानमा नेपाली नागरिकहरूलाई  क्यासिनोभित्र प्रवेशमा प्रतिबन्ध लागेकाे भएतापनि जुवाजन्य गतिविधिमा प्रत्यक्ष संलग्न गराएको देखिएको प्रहरीको दाबी छ।

कारबाहीका क्रममा प्रहरीले रु १ लाख ९० हजार नगद, विभिन्न कम्पनीका १४ थान मोबाइल, मिलन प्रधान नाम गरेको १ थान नक्कली भारतीय आधार कार्ड, २ थान सवारी चालक अनुमति पत्र, १ थान नक्कली भारतीय भोटर कार्ड, ३ थान सीसीटीभी क्यामेराको डीभीआर तथा नेपाली खेलाडीहरूले विभिन्न मितिमा नेपाली नगद साटेको १ थान इन्ट्री बुक बरामद गरेको जनाएको छ।

बरामद गरिएको सामग्रीले क्यासिनोभित्रको गतिविधि केवल सामान्य प्रवेश वा भेटघाटमा सीमित नभई व्यवस्थित रूपमा अवैध जुवासँग सम्बन्धित लेनदेन र परिचालन भएको आशंकालाई बल पुर्‍याएको प्रहरी स्रोतको संकेत छ। विशेष गरी नगद साटासाटको इन्ट्री बुक, मोबाइल, सीसीटीभी डीभीआर तथा नक्कली भारतीय परिचयपत्रहरू फेला पर्नु घटनाको संवेदनशील पक्षका रूपमा हेरिएको छ। यसले जुवा मात्रै होइन, परिचयपत्र दुरुपयोग, आर्थिक कारोबार र संगठित सेटिङको कोणबाट समेत अनुसन्धान विस्तार हुन सक्ने देखिएको छ।

काठमाडौंमा सञ्चालनमा रहेका क्यासिनोहरू विदेशी पर्यटकका लागि लक्षित भनिए पनि अवैध रूपमा नेपाली नागरिक नै त्यहाँ हारजितको खेलमा संलग्न भएको सूचना र त्यसपछिको प्रहरी कारबाहीले नियमनको प्रश्नलाई फेरि एकपटक अगाडि ल्याएको छ। कानूनले निषेध गरेका गतिविधि क्यासिनोभित्रै संरक्षित ढंगले चलिरहेका हुन् कि भन्ने प्रश्न पनि यो घटनाले उठाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। साथै बरामद गरिएका नक्कली भारतीय कागजात र अन्य सामग्रीबारे पनि छुट्टै कोणबाट अनुसन्धान हुन सक्ने जनाइएको छ। प्रेस विज्ञप्तिमा प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रवक्ता तथा सूचना अधिकारी, को हस्ताक्षर रहेको छ।

यो कारबाहीले काठमाडौंका क्यासिनोभित्र भइरहेका गतिविधिबारे सुरक्षा निकाय थप सतर्क भएको संकेत दिएको छ। क्यासिनाे प्रवेशमा प्रतिबन्धित नेपाली नागरिकलाई लक्षित गरेर हारजितको खेल सञ्चालन गरिएको पुष्टि भएमा यसले क्यासिनो नियमन, सुरक्षा जाँच र कानूनी कार्यान्वयनका क्षेत्रमा थप कडाइको बहस चर्काउने निश्चित देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *