मकवानपुर, १९ चैत : बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बिजुलीको पोलले विद्युतीय तार छुदाँ करेन्ट लागेर स्थानीय राजकुमार गोलेको मृत्यु भएको हो । गम्भीर घाइते गोलेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
करेन्ट लागेर मकवानपुरगढी–२ मोरेका ३० वर्षीय राजकुमार स्याङतान र मकवानपुरगढी–७ सानडाँडाका ५५ वर्षीय मानबहादुर गोले घाइते भएका छन् । दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । –––




