🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

इला होटल एण्ड रिसोर्टले लक्ष्मण थापालाई सुम्पियो नेतृत्व

काठमाडौँ, चैत ३ । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापा नियुक्त हुनुभएको छ।

आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो।

आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बटुल्नुभएका थापाले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरबलगायत विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट तथा क्यासिनोमा नेतृत्वदायी भूमिकामा कार्य गरिसक्नुभएको छ।

आइएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि उहाँ सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृत (सीओओ) का रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यहाँ रहँदा उहाँले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे तथा भेन्यूहरूको सञ्चालन नेतृत्व गर्नुभएको थियो।

यसअघि उहाँले काठमाडौँस्थित होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनस्थित सीजी हस्पिटालिटी तथा भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा पनि विभिन्न नेतृत्वदायी भूमिकामा काम गरिसक्नुभएको छ।

त्यसैगरी, उहाँसँग ले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी तथा रोजवुड जेद्दाहजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग काम गरेको अनुभव पनि छ।

थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा प्रदर्शन गरेको नेतृत्व क्षमताले आइएमई हस्पिटालिटीको सेवा गुणस्तर अभिवृद्धि तथा सञ्चालन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

आइएमई हस्पिटालिटीले काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटल इला लगायत विभिन्न होटल तथा रिसोर्टहरूको व्यवस्थापन हेर्दै आएको छ। आइएमई हस्पिटालिटी, आइएमई ग्रुपअन्तर्गत आतिथ्य क्षेत्रको इकाइ हो।

नियुक्तिपछि थापाले इला होटल एण्ड रिसोर्टको सेवा स्तर उकास्ने, सेवा संस्कृतिलाई थप सुदृढ बनाउने, कम्पनीको सञ्जाललाई देशका विभिन्न पर्यटकीय गन्तव्यसम्म विस्तार गर्ने तथा दिगो र परिणाममुखी वृद्धि हासिल गर्ने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *