काठमाडौँ – सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। उक्त घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ।
न्यायको माग गर्दै विभिन्न नागरिक समूह, अधिकारकर्मी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरू सडकमा उत्रिएका छन्। काठमाडौँको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ भने बाँकेमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनालाई अत्यन्त जघन्य अपराधको रूपमा लिँदै संलग्न अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।
पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तको नेतृत्वमा आयोजित खबरदारी सभामा सहभागीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कठोर कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन्।
उनीहरूले बालिकामाथि भएको यस्तो अमानवीय हिंसाले समाजमा अझै पनि महिलामाथि हुने हिंसा, लैङ्गिक विभेद र असुरक्षाको गम्भीर अवस्था उजागर गरेको बताएका छन्।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशकसमेत रहेका पन्तले इनिशाका लागि न्याय माग्नु मात्र पर्याप्त नहुने बताएका छन्। उनका अनुसार यस्तो जघन्य अपराधपछि केवल दोषीलाई सजाय दिनु मात्रै समाधान होइन, भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी राज्य, समाज र कानुनी संरचनाले जिम्मेवार भूमिका खेल्न आवश्यक छ।
उनले आज पनि समाजमा बालिका, स्कुले छात्रा, युवा महिला तथा वृद्ध महिलासम्म बलात्कारको सिकार भइरहेका उल्लेख गरे। अपराधीहरूले कहिलेकाहीँ दण्ड सजाय त पाउँछन्, तर केवल सजायले मात्र समाज सुरक्षित हुँदैन।
“बलात्कार केवल एउटा आपराधिक घटना मात्र होइन,” उनले भने, “यो चरम हिंसा हो, गम्भीर मानसिक विकृति हो र मानवीय नैतिकताको पूर्ण पतन हो।”
यस्तो अपराधलाई सामाजिक रूपमा अस्वीकार्य बनाउँदै राज्यले प्रभावकारी कानुनी तथा सामाजिक उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो।
समावेशी समाजवादी पार्टीकी अध्यक्ष तथा तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) ले समाजमा समावेशिताको कुरा गरिए पनि व्यवहारमा अझै जात, लिङ्ग र पहिचानका आधारमा विभेद कायम रहेको बताइन्।
उनका अनुसार बलात्कार र हत्याजस्ता अपराधका दोषीलाई कडा कारबाही गर्ने स्पष्ट कानुन, नीति र प्रभावकारी कार्यान्वयन प्रणाली आवश्यक छ।
उनले कडा कानुनी र सामाजिक संरचना नबन्दा बालिकासँगै तेस्रोलिंगी महिलाहरू पनि निरन्तर असुरक्षित भइरहनु परेको बताइन्। लोकतन्त्र र गणतन्त्र जस्ता राजनीतिक व्यवस्था परिवर्तन भए पनि समाजमा लिङ्गका आधारमा हुने हिंसा र विभेद अन्त्य हुन नसकेको उनको भनाइ थियो।
महिला, पुरुष, तेस्रोलिंगी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैले स्वतन्त्र र सुरक्षित भएर बाँच्न पाउने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने उनले सुझाव दिइन्।
समावेशी समाजवादी पार्टीबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अन्य पहिचानतर्फ उम्मेदवार बनेकी पिंकी राईले तेस्रोलिंगी महिलामाथि पनि बलात्कारपछि हत्या गरिएका घटनाहरू धेरै रहेको बताइन्। तर त्यस्ता घटनामा पीडितहरूले न्याय पाउन नसकेको अवस्था अझै कायम रहेको उनको भनाइ थियो।
उनले छोरीमाथि भइरहेका डरलाग्दा घटनामा समेत पीडितले न्याय पाउन कठिन भइरहेको उल्लेख गरिन्।
“अब बन्ने नयाँ सरकारले यस्तो जघन्य अपराधप्रति गम्भीर ध्यान दिनुपर्छ,” उनले भनिन्, “राम्रो नीति–नियम निर्माण होस् र सबैले समान रूपमा न्याय पाउने व्यवस्था बनोस् भन्ने हाम्रो अपेक्षा छ।”
उनले शक्ति र पैसाको प्रभाव प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास नगर्न पनि चेतावनी दिइन्। उनका अनुसार राज्यको शक्ति र कानुन अपराधीलाई जोगाउन होइन, पीडितलाई न्याय दिलाउन प्रयोग हुनुपर्छ।
इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री भएको समयमा पनि महिलाहरूले न्याय नपाएर यस्तो अवस्था भोगिरहनु परेको उनले उल्लेख गरिन्।
“हामी गम्भीर प्रश्न उठाउन चाहन्छौँ,” उनले भनिन्, “उहाँको ध्यानाकर्षण होस्, निष्पक्ष र न्यायपूर्ण छानबिन होस् र दोषीलाई कारबाही होस्।”
समावेशी समाजवादी पार्टीकी सचिव तथा तेस्रोलिंगी अधिकारकर्मी सञ्जीवनी लामा (सन्ध्या)ले पनि इनिशा बिकमाथि भएको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कडा सजाय दिन माग गरेकी छन्।
उनले नेपालको समाजमा अझै पनि महिलामाथि हुने हिंसा र अत्याचारका घटनाहरू नरोकिएको उल्लेख गरिन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले इनिशा बिकमाथि भएको घटना अत्यन्तै दुःखद, निन्दनीय र मानवता नै लज्जित हुने किसिमको अपराध भएको बताएकी छन्।
“यस्तो जघन्य अपराध गर्ने अपराधीलाई कडा भन्दा कडा सजाय दिनु राज्य, कानुन र समाज सबैको कर्तव्य हो,” उनले लेखेकी छन्। “बलात्कार कुनै सामान्य अपराध होइन। यो एक व्यक्तिको सम्मान, स्वतन्त्रता र मानव अधिकारमाथि भएको क्रूर आक्रमण हो।”
उनका अनुसार इनिशा बिकमाथि भएको यस्तो अमानवीय व्यवहारले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ।
इनिशा बिकका लागि न्याय केवल एक व्यक्तिको न्याय मात्र नभई सम्पूर्ण महिलाहरू, दलित समुदाय तथा कमजोर वर्गको सुरक्षा र सम्मानसँग जोडिएको विषय भएको उनले बताइन्।
“त्यसैले सरकार, प्रहरी प्रशासन, मानवअधिकारकर्मी र सम्पूर्ण नागरिक समाज एकजुट भएर अपराधीलाई कानुनको कठघरामा उभ्याउन दबाब दिनुपर्छ,” उनले लेखेकी छन्।
“न्याय बिना शान्ति सम्भव छैन। इनिशा बिकलाई न्याय चाहिन्छ-अहिले नै चाहिन्छ।”




