म राष्ट्रपति कार्यालयमा मिति २०८१/०४/१८ गतेबाट खटिएको हुँ र भदौ २३ गते म शीतल निवासमै थिएँ। सो दिन जेन-जेड (Gen-Z) युवा पुस्ताद्वारा विभिन्न स्थानमा प्रदर्शन भए तापनि शीतल निवास क्षेत्रमा कुनै असामान्य सुरक्षा समस्या उत्पन्न भएन।
भदौ २४ गते करिब ११:०० बजेतिर विभिन्न स्थानमा प्रदर्शनकारीहरू जम्मा हुँदै गएको सूचना प्राप्त भयो। ती समूहहरूको लक्ष्य कुनै पनि संवेदनशील स्थान हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, मेरो जिम्मेवारीमा रहेको शीतल निवासको सुरक्षालाई उच्च प्राथमिकतामा राखी फौज पुनः व्यवस्थापन गरियो। शीतल निवासको नम्बर २ गेटको दक्षिणतर्फ तथा महाराजगञ्ज कान्ति बाल अस्पताल नजिकको सडकमा Blocking Position का रूपमा ड्युटी तैनाथ गरियो। बाँकी फौजहरू शीतल निवास परिसर वरपर पोस्ट, स्ट्यान्डबाइ र स्टप-एण्ड-गो अवस्थामै राखिएको थियो। नम्बर १, नम्बर २ तथा पश्चिमतर्फका गेटहरू Strong Hold गरी सुरक्षा घेरा मजबुत बनाइएको थियो। मैले स्थलगत निरीक्षण तथा रेडियो सेटमार्फत शीतल निवास र सम्माननीय राष्ट्रपतिज्यूको सुरक्षाको निरन्तर अनुगमन गरिरहेको थिएँ।
करिब १२:३० बजे सम्माननीय राष्ट्रपतिज्यूले सबै सल्लाहकारसहित मलाई बोलाई समग्र परिस्थितिबारे छलफल गर्नुभयो। त्यतिबेलासम्म अवस्था नियन्त्रणमै रहेको र तैनाथ फौजले सडकमा जम्मा भएका प्रदर्शनकारीहरूलाई सम्झाई-बुझाई गर्दै रोकिराखेको जानकारी मैले प्रस्तुत गरें। विभिन्न माध्यमबाट प्रदर्शनकारीहरूको गतिविधिसम्बन्धी सूचना निरन्तर प्राप्त भइरहेकाले सोही अनुसार सतर्कता कायम राखिएको थियो। करिब १४:०० बजे पुनः सम्माननीय राष्ट्रपतिज्यूले मलाई बोलाई परिस्थितिबारे जानकारी लिनुभयो। उहाँले अन्तिम समयसम्म पनि शीतल निवासमै सुरक्षित बस्ने इच्छा व्यक्त गर्नुभयो। मैले पनि हालसम्म शीतल निवास सुरक्षित रहेको र अन्तिम अवस्थामा मात्र वैकल्पिक सुरक्षित स्थानमा लैजाने तयारी रहेको ब्यहोरा स्पष्ट गरें।
करिब १५:०० बजेतिर प्रदर्शनकारीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको र ठूलो समूह पूर्व बालुवाटारतर्फबाट शीतल निवासतर्फ बढिरहेको सूचना प्राप्त भएपछि सबै प्रदर्शनकारीको सम्भावित लक्ष्य शीतल निवास नै हुन सक्ने स्पष्ट भयो। यस अवस्थालाई मध्यनजर गर्दै पहिलो प्राथमिकता सम्माननीय राष्ट्रपतिज्यूको सुरक्षा रहेकाले, उहाँलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव मैले प्रस्तुत गरें। ADC टोली तथा अति विशिष्ट सुरक्षा निर्देशनालयको सहयोगमा करिब १५:१५ बजे सम्माननीय राष्ट्रपतिज्यू र परिवारलाई सवारीमार्फत सुरक्षित स्थानमा सकुशल पुर्याइयो।
यसपछि पनि म रेडियो सेट र मोबाइलमार्फत शीतल निवासमा तैनाथ फौजका कमाण्डर, राष्ट्रपति सचिवालयका सैनिक अधिकृत तथा अति विशिष्ट सुरक्षा निर्देशनालयका कमाण्डरहरूसँग निरन्तर सम्पर्कमा रही परिस्थिति बुझिरहेको थिएँ र सकेसम्म सम्झाई-बुझाई तथा न्यूनतम बल प्रयोग गरी शीतल निवासमा क्षति हुन नदिन निर्देशन दिइरहेको थिएँ। करिब १५:२० बजेतिर ठूलो संख्यामा प्रदर्शनकारीहरूले नम्बर १ र नम्बर २ गेटबाट भित्र पस्ने प्रयास गरे। नम्बर २ गेटबाट प्रवेशको प्रयास फौजले रोकेको भए तापनि, नम्बर १ गेटको दायाँ-बायाँ रहेको होचो पुरानो पर्खालबाट ठूलो संख्यामा प्रदर्शनकारीहरू शीतल निवासभित्र प्रवेश गरे।
गोली प्रहार गर्दा ठूलो मानवीय क्षति हुन सक्ने देखिएकाले हतियारबाट फायर खोलिएन। फौज केही पछाडि हट्दै शीतल निवासको दक्षिणतर्फको कार्यालय क्षेत्र र पश्चिमतर्फको राष्ट्रपतिको निवास जोगाउन केन्द्रित भयो। आक्रोशित भिडले वरपर तोडफोड तथा आगजनी सुरु गर्यो र करिब १६:०० बजेतिर आगलागी व्यापक बन्यो। तथापि, अन्तिम समयसम्म पनि फौज भौतिक रूपमा उपस्थित भई सम्झाई-बुझाई गर्दै अन्य क्षेत्रमा क्षति फैलिन नदिएकाले दक्षिणतर्फका सम्पूर्ण कार्यालय, पार्किङमा रहेका सवारी साधन तथा पश्चिमतर्फको राष्ट्रपतिको निवास भवन पूर्ण रूपमा सुरक्षित राख्न सफल भयौं। पुरानो संरचना, कार्पेट, पर्दा र फर्निचरका कारण आगो छिटो फैलिँदा शीतल निवासको पूर्वी र उत्तरी भाग तथा प्रि-फ्याब घरहरूमा क्षति पुग्यो।
शीतल निवासभित्र नेपाल प्रहरीको ९ जना सानो टुकडी समन्वयका लागि मात्र तैनाथ थियो र सशस्त्र प्रहरी बल भित्र परिसरमा थिएन। नेपाली सेनाको तर्फबाट २२४ जना फौज तैनाथ थिए। प्रदर्शनकारीको आक्रोशित भिडमाथि हवाई फायर वा अश्रुग्यास प्रयोग गरिएन, किनकि वरपर आवासीय तथा व्यावसायिक भवनहरू रहेको अवस्थामा यसले गम्भीर मानवीय क्षति निम्त्याउने जोखिम देखिएको थियो।
मेरो बुझाइमा, शीतल निवासमा आंशिक क्षति हुन जानुको मुख्य कारण मानवीय क्षति नहोस् भन्ने उच्च प्राथमिकताका साथ न्यूनतम बल प्रयोग गर्नु र विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०८१ अनुसार सम्माननीय राष्ट्रपतिज्यू तथा परिवारको सुरक्षा पहिलो प्राथमिकतामा राखिनु हो। हतियारहरू कुनै पनि हराएका छैनन्। सम्पूर्ण घटनाक्रममा मैले चेन अफ कमाण्ड अनुसार युद्ध कार्य विभागसँग सम्पर्क गरी प्राप्त निर्देशन बमोजिम सुरक्षा कार्यविधि पालन गरेको हुँ।
अन्त्यमा, यस घटनाको अनुभवका आधारमा भविष्यमा यस्ता परिस्थितिमा बिना हतियार आएका प्रदर्शनकारीहरूबाट पनि ठूलो क्षति हुन सक्ने देखिएकाले, प्रहरी परिचालन तहगत र योजनाबद्ध हुनुपर्ने, Graduated Response को अवधारणा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिका प्राथमिक र अन्तिम विकल्पका रूपमा मात्र नेपाली सेनाको परिचालन हुनुपर्ने, साथै VVIP/VIP बसोबास तथा कार्यालय क्षेत्रको पर्खाल, तारजाली र बहु-तहको सुरक्षा संरचना सुदृढ बनाइनुपर्ने मेरो निष्कर्ष छ।
(गाैरीवहादुर कार्की आयाेग-२०८२ लाई दिइएकाे बयान जस्ताकाे तस्तै)




