काठमाडौं, चैत १० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विक २०२६ अन्तर्गत देशभर सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट करिब ६ हजार सर्वसाधारण लाभान्वित भएका छन्।
बैंकले “स्मार्ट मनी टक्स २०२६” भन्ने मूल नारासहित २०८२ चैत २ देखि ८ गतेसम्म सातै प्रदेशका आफ्ना १०८ शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थीलाई वित्तीय ज्ञान, यसको आवश्यकता र महत्वबारे जानकारी दिइएको थियो।
यसैगरी विद्युतीय बैंकिङको विस्तारसँगै बढ्दो अपराध र जोखिम, सुरक्षित बैंकिङ अभ्यास, नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता काममा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्नुपर्ने विषयमा पनि सचेतना प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार वित्तीय साक्षरताले बैंकिङ प्रणालीलाई मजबुत बनाउनुका साथै युवा पुस्तामा आर्थिक सचेतना बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
सिटिजन्स बैंकले हाल ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।




