काठमाडौँ, । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न सम्बन्ध सबैलाई निर्देशन दिनुभएको छ ।
२०८२ चैत २ गते उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन पछि उहाँले ट्राफिक प्रहरी कर्मचारीलाई अनुशासित, शिष्ट र सेवामुखी भई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार बन्न निर्देशन दिनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उपत्यकामा बढ्दो सवारी चाप र सडक दुर्घटनाको चुनौतीलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ट्राफिक प्रहरीको भूमिका नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै प्रत्येक ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारी, अनुशासन र सेवाभावका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
“सडकमा ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बोकेर काम गरिरहेका हुन्छन्”, उहाँले भन्नुभयो, “सडकमा खटिने प्रत्येक ट्राफिक प्रहरी नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् । त्यसैले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै दुर्घटना न्यूनीकरणका लागि थप सक्रियता देखाउनु आवश्यक छ ।”
कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका विभिन्न शाखा, सेवा प्रवाहको अवस्था, दैनिक ट्राफिक व्यवस्थापनको प्रणाली तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा पनि चासो व्यक्त गर्नुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि पुनःनिर्माण गरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका संरचना तथा विभिन्न शाखाको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले निरीक्षण गर्नुभएका थियो । पुनःनिर्माणपछि कार्यालयको सेवा प्रवाह र कार्य वातावरणमा सुधार आएको भन्दै उहाँले सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको प्रतिवेदन प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमा सडक सुरक्षा सुदृढीकरण, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उपाय, दुर्घटना न्यूनीकरणका रणनीति तथा ट्राफिक जनचेतना अभिवृद्धिका कार्यक्रमबारे उल्लेख गरिएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले उपत्यकामा बढ्दो सवारीसाधनको चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालित भइरहेका जानकारी दिनुभयो । उहाँले नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सडक सुरक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
अनुगमन कार्यक्रमले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा ट्राफिक प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उल्लेख गर्नुभयो । कार्यक्रममा ट्राफिक प्रहरीका अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।
—




