रामेछाप । रोशी खोलामा गए राति आएको बाढीका कारण बिपी राजमार्गमा काम गर्दै आएका एक श्रमिकको मृत्यु भएको छ भने ७ जनाको सकुशल उद्धार गरिएको छ ।
काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् ।
यसैबिच, रोशी खोलाको बाढीमा फसेका ७ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले स्काइभेटरको सहयोगमा गए राति उद्धार गरेको छ ।
अविरल वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काभ्रे प्रहरीले दिएको जानकारीअनुसार रोशी गाउँपालिका–७ घुमाउने डाँडा, वडा नम्बर ९ विरुवाडाँडा, वडा नम्बर ११ काल ढुङ्गा तथा नमो बुद्ध नगरपालिका–६ चोक डाँडामा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरीले सम्बन्धित निकायमार्फत सडक खुलाउने काम भइरहेको जनाउँदै यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।




