बीरगंज, २०८२ चैत १२ गते । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट श्रोत नखुलेको नगद रकमसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पर्सा बीरगंजका अनुसार नियमित जाँचका क्रममा शङ्कास्पद अवस्थामा रहेका एक व्यक्तिलाई चेकजाँच गर्दा साथबाट रु ९ लाख नगद फेला परेको हो। उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। बरामद नगदसहित उक्त व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ।
सीमाक्षेत्र हुँदै हुने अवैध नगद ओसारपसार नियन्त्रणका लागि नियमित निगरानी र जाँचलाई कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।




