काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित बागथला–धारी डोबा सडक निर्माण योजनामा कामै नगरी वा कम गरेर कागजमा बढी देखाई सरकारी रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा २०८२ चैत १० गते भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी भुमिराज कन्स्ट्रक्सनका सञ्चालक मानबहादुर बोहरा विरुद्ध आरोपपत्र दायर गरिएको हो।
आयोगले गरेको अनुसन्धानमा बागथला–धारी डोबा रोड (ठेक्का नं. BCRM/CW-12-2077/078) अन्तर्गत मेसिनरी वर्क, ग्याबिन तथा ह्युम पाइप कल्भर्ट निर्माणसम्बन्धी काम सम्झौताअनुसार पूरा नभए पनि ‘काम सम्पन्न’ देखाई झुट्टा बिल बनाएर भुक्तानी लिएको पुष्टि भएको छ।
नापी किताबमा ३३८ मिटर लम्बाइको सिंचाइ क्यानल निर्माण भएको उल्लेख गरिए पनि स्थलगत अनुगमनमा मात्र २४८ मिटर निर्माण भएको भेटिएको छ। त्यस्तै, ह्युम पाइप कल्भर्ट र अन्य मेशनरी संरचनाको काम फिल्डमा देखिनै नआएको आयोगको निष्कर्ष छ।
योजनाको वास्तविक प्रगति भन्दा बढी देखाएर झुट्टा बिल, कार्यसम्पन्न प्रतिवेदन तथा कागजात तयार गरी कुल ८ लाख ४८ हजार ९६२ रुपैयाँ २२ पैसा बराबरको रकम गैरकानुनी रूपमा भुक्तानी लिइएको आयोगले जनाएको छ।
उक्त रकम बराबरको बिगो कायम गर्दै संलग्न कर्मचारी र ठेकेदारबीच मिलेमतोमा सरकारी कोषलाई नोक्सानी पुर्याइएको ठहर गरिएको छ।
आरोपपत्रअनुसार प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखापाल धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (ग) र (ङ) अनुसार कैद सजाय, जरिवाना तथा बिगो असुल उपरको माग गरिएको छ।
इन्जिनियर सन्देश भण्डारी र सब–इन्जिनियर किरण भण्डारीविरुद्ध पनि सोही ऐनअनुसार कैद र जरिवाना माग गरिएको छ भने दफा १९(२) अनुसार थप सजायको मागसमेत गरिएको छ।
निर्माण व्यवसायी मानबहादुर बोहराको संलग्नतासमेत पुष्टि भएको भन्दै उनीमाथि पनि सोही प्रकृतिको कारबाहीको माग गरिएको आयोगले जनाएको छ।
यस प्रकरणले स्थानीय तहमा विकास योजनामा हुने मिलेमतो, झुट्टा बिलिङ र प्राविधिक मिलेमतोमार्फत हुने भ्रष्टाचारको गम्भीर चित्र उजागर गरेको छ।





