🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

खडकराज (गनेस) पौडेल : लेखकदेखि पर्यटनमन्त्रीसम्म

गण्डकी, १३ चैत : आज मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनुभएका खडकराज पौडेल ‘गनेस’का बारेमा धेरैलाई थाहा नहुन सक्छ । उहाँका बारेमा थाहा हुनेलाई पनि पौडेल राजनीतिक दलका नेता भन्दा लेखक, साहित्यकार र अभियन्ताका रुपमा बढी परिचित हुनुहुन्थ्यो ।

तर उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट निर्वाचित हुनुभयो । उहाँको राजनीतिक यात्राले आजदेखि थप अर्को फड्को मारेको छ । जसले गर्दा पर्यटकीय राजधानी पोखरामा जन्मनुभएका उहाँलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ ।

साहित्यिक वृत्तमा गनेस पौडेल नामले परिचित उहाँले यसअघि पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्ने व्यक्तिको छवि बनाउनुभएको थियो । पौडेलले वातावरण, सम्पदा, कला, संस्कृति संरक्षणका मुद्दालाई विभिन्न कोणबाट प्रखर रूपमा उठाउँदै आउनुभएको थियो । विसं २०७४ मा उहाँको पहिलो उपन्यास ‘पैताला’ प्रकाशित भएको थियो । उहाँ अखबारी लेखनमा पनि उत्तिकै सिद्धहस्त हुनुहुन्छ ।

विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ माइस एन्ड मेन’को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो । पौडेल पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका परिकल्पनाकारसमेत हुनुहुन्छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०३६ मा पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मनुभएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गर्नुभएको छ । उहाँसँग शिक्षण पेसाको समेत अनुभव छ । पौडेल विसं २०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो ।

त्यसबेला ‘लौरो’ चिह्न लिएर चुनाव लड्नुभएका उहाँले पाँच हजार १२८ मत प्राप्त गर्दै पराजित हुनुभएको थियो । पौडेलले दलीय एकाधिकार, भ्रष्टाचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गर्नुभएको थियो । साहित्य लेखनसँगै सामाजिक अभियानमा आफूलाई क्रियाशील बनाउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल उहाँले वालेन्द्र शाह नेतृत्वको सरकारमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

पौडेल पर्यटनमन्त्री नियुक्त भएसँगै पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीलगायतले पर्यटन क्षेत्रको सुधार र दिगो विकासको अपेक्षा गरेका छन् । उहाँको कार्यकालमा पर्यटन क्षेत्रमा नीतिगत सुधारसँगै लगानीको सुरक्षा, पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनका कामले गति लिने विश्वास गरिएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *